राजनीति

स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नहुँदा प्रचार गर्न नपाएकाे गुनासाे

स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नहुँदा प्रचार गर्न नपाएकाे गुनासाे
वैशाख - २० । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरुले चुनाव चिह्नको अभावमा प्रचारप्रसार गर्न नपाएको गुनासो गरेका छन् । संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारहरुले चुनाव चिह्न पाएर प्रचारप्रसार गर्न थाले पनि स्वतन्त्रतर्फका उम्मेदवारले भने चुनाव चिह्न नपाएपछि खुलेर प्रचारप्रसार गर्न नपाएका हुन् । उनीहरूले प्रचारप्रसारका लागि सामग्री समेत बनाउन पाएका छैनन् । काठमाडौँ महानगरपालिकाबाट उपप्रमुख पदमा स्वतन्त्रतर्फका उम्मेदवार जेनिशा भट्टराईले चुनाव चिह्न नपाएर प्रचारमा जान नसकेको बताइन् । “अहिले उपप्रमुखको उम्मेदवारमा बनेको छु भनेर प्रचार गरेको छु” उनले भनिन्– “उम्मेदवार मनोनयनसँगै चुनाव चिह्न पाएको भए प्रचार गर्न सजिलो हुने थियो ।” संसद्‍मा भएका २६ दललाई मात्र निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । नयाँ दर्ता भएका पार्टीलाई पनि आयोगले चुनाव चिह्न दिन सकेको छैन । साझा पार्टी, विवेकशील नेपाली दललगायत पार्टीले पनि स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका छन् । आयोगले २१ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र २२ वैशाखमा स्वतन्त्रतर्फका उम्मेदवारलाई चुनाव चिह्न दिने जनाएको छ ।

स्थानीय तह निर्वाचन

विशेष