राजनीति

दर्जन विद्यार्थी नेता स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्दै, को–को छन् चुनावी मैदानमा

दर्जन विद्यार्थी नेता स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्दै, को–को छन् चुनावी मैदानमा

वैशाख २१ । स्थानीय तह निर्वाचनमा दर्जनौँ विद्यार्थी नेता पनि उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख–उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरू उम्मेदवार बनेका छन् ।

३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् । माओवादी केन्द्रका तर्फबाट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने मेयरको उम्मेदवार बनेका छन् । बाँकेको कोहलपुर नगरपालिकामा न्यौपानेलाई मेयरको उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको छ । त्यसैगरी क्रान्तिकारीका सचिव भगतसिंह छेकर बोहरा दार्चुलाको खण्डेश्वरी गाउँपालिकाको अध्यक्षमा र अर्का सचिव बिर्सिका राईलाई खोटाङको गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ ।

३१ वैशाखमा हुने निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट प्रदेश नं. ३ मा पाँच केन्द्रीयस्तरका नेता स्थानीय तहमा भिड्दै छन् । अध्यक्ष नरेन्द्र न्यौपानेका अनुसार केन्द्रीय सचिवालय सदस्य कविता ढुंगाना नुवाकोटको बेलकोटगढी नगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी छिन् ।

केन्द्रीय सचिवालय सदस्य सुवीन्द्र तामाङले क्योञ्ज्योसोम गाउँपालिकाको वडाअध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरू शाश्वत सुवेदीले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ४ को वडाअध्यक्षमा, एलिसा थापाले नुवाकोटको दुप्चेश्वर गाउँपालिका उपाध्यक्षमा, माधव छत्कुलीले धादिङको ज्वालामुखी गाउ“पालिका वडा नं. ७ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रदेश नं. ४ मा केन्द्रीय सचिव शाखा गुरुङ गोरखाको धार्चे गाउँपालिकाको उपाध्यक्षमा, केन्द्रीय सचिवालय सदस्यहरू शंकर गिरी पर्वतको कुस्मा नगरपालिकाको मेयरमा, प्रविणा अधिकारी कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा, क्षितिज सापकोटा कास्कीकै मादी गाउँपालिका वडा नं। ३ वडाअध्यक्षमा उम्मेदवार बनेका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरू संजीव थापामगर गोरखामा र गोमबहादुर रानामगर तनहुँमा वडाअध्यक्षको उम्मेदवार बनेका छन् ।

प्रदेश नं। ६ मा केन्द्रीय सचिवालय सदस्यहरू लक्ष्मण बम कालिकोटको मलाता गाउँपालिका अध्यक्ष, सुशील गौतम रुकुमको मुसिकोट नगरपालिका वडानम्बर ६ को अध्यक्ष र देवीकृष्ण रोकाया मुगुको छायानाथ रारा नगरपालिकाको वडा नं। ९ को अध्यक्षको उम्मेदवार बनेका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरू दन्ता नेपाली दर्शना कालिकोटको तिलागुफा नगरपालिकाको उपमेयर र मानव रोकाय ठुलोभेरी नगरपालिका वडा नं. १२ को अध्यक्षमा भिड्दै छन् ।

यी नेता उठ्दै छन् अनेरास्ववियुबाट

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीयस्तरका नेताहरू पनि स्थानीय तहमा उम्मेदवार बनेका छन् । केही नेता दोस्रो चरणको निर्वाचनको तयारीमा छन् ।

अनेरास्ववियु कार्यालय सचिव राजेन्द्र गजुरेलका अनुसार केन्द्रीय सदस्य सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी छिन् । त्यसैगरी केन्द्रीय सदस्य ईश्वर तिमल्सिना सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नं. ७ को अध्यक्षको उम्मेदवार बनेका छन् । अखिलको निर्वाचन आयोग सदस्य सञ्जय दुवाडीले धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४ को अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी आयोग सदस्य चरिबहादुर तामाङ गलेसी गाउँपालिका वडा नं. ८ का उम्मेदवार भएका छन् भने दोलखाका जिल्ला अध्यक्ष रेशम सोराज रिमाल बैतेश्वर गाउँपालिका वडा नं. ७ का अध्यक्षका उम्मेदवार बनेका छन् ।

नेविसंघका नेता स्थानीय तहमा अत्यन्तै न्यून

नेविसंघका केन्द्रीयस्तरका नेताहरूको स्थानीय तहमा एकदमै न्यून उम्मेदवारी परेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरका अनुसार पूर्वपदाधिकारी तथा नेताहरू धेरै उम्मेदवार भए पनि वर्तमान कार्यसमितिका थोरैको मात्र स्थानीय तहमा उम्मेदवारी परेको छ । उनका अनुसार केन्द्रीय सदस्य कल्पना खड्का रामेछापको लिखु गाउँपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी छिन् ।

नयाँ पत्रिका

Student

विशेष