राजनीति

महिला प्रायः उपप्रमुखमा

महिला प्रायः उपप्रमुखमा

वैशाख २१ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुखमध्ये कम्तीमा एक पदमा महिला उम्मेदवारी अनिवार्य गरिए पनि दलहरूले महिलालाई प्रायः उपप्रमुख र उपाध्यक्षमा मात्र समेटेका छन् ।

सबैजसो दलले प्रमुख पदमा पुरुषलाई नै उभ्याएका छन्। महिलाको समान हैसियत निर्माण यो प्रावधान राखिए पनि दलहरूको व्यवहारले ‘करकापको अवसर’जस्तो मात्र देखिएको छ । स्थानीय तहसम्बन्धी निर्वाचन ऐनले उम्मेदवारी दिँदा दलले अध्यक्ष्उपाध्यक्ष र प्रमुख्उपप्रमुखमा ५० प्रतिशत महिला अनिवार्य गरे पनि ठूला दलले अधिकांशमामहिलालाई दोस्रो दर्जामा सीमित गरेका छन् ।

चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र २ सय ८३ स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दिँदा सबैजसो दलले प्रमुख पदमा पुरुषलाई नै उभ्याएका हुन् । ऐनको दफा ४० उपदफा १० मा मनोनयनपत्र पेश गर्दा अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला  उम्मेदवार रहनेगरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले दुई ठाउँमा मात्र महिलालाई मेयर उठाएको छ । उसले कान्तिका सेजुवाललाई जुम्लाको चन्दननाथ र सिन्धुलीको दुधौली नगरको मेयरमा गंगा दाहाललाई उम्मेदवार बनाएको हो । एमालले चितवनको राप्तीमा प्रभा बराल, स्याङ्जाको पुतलीबजारमा सीमा क्षत्री, तनहुँको भानुमा भगवती न्यौपाने र नवलपरासीको कावासोती नगरमा चन्द्रा पुन गरी चार जनालाई मेयरमा उठाएको छ ।

माओवादी केन्द्रले तुलनात्मक रूपमा केही बढी ११ जनालाई मेयरमा मौका दिएको छ । उसले भरतपुर महानगरमा अध्यक्ष एवं प्रधानमन्त्रीकी छोरी रेणु दाहाललाई उम्मेदवार बनाएको छ ।  त्यस्तै हेटौंडा उपमहानगरमा कुमारी मोक्तान, काठमाडौं टोखामा कल्पना शर्मा, मकवानपुरको थाहामा पवित्रा महत विष्ट, भक्तपुरको ठिमीमा प्रतिभा श्रेष्ठ,धुलिखेलमा सरस्वती लामा, मण्डन  काभ्रे देउपुरमा रीता ढकाल, सिन्धुली कमलामाईमा सावित्रीदेवी पाण्डेलगायतलाई उम्मेदवार बनाएको छ ।

यस्तै राप्रपाले तीन महिलालाई मेयर उठाएको छ । रूपा डंगोललाई टोखा, गौमाया श्रेष्ठलाई तनहुँको व्यास र देवकी बुढाथोकीलाई दोलखाको भीमेश्वरमा उठाइएको छ । नेमकिपाले भक्तपुरको सूर्यविनायकमा शोभा त्वातीलाई उठाएको छ ।

election

विशेष