राजनीति

कार्कीमाथिको महाअभियोग प्रस्ताव आज संसदमा पेश हुने

कार्कीमाथिको महाअभियोग प्रस्ताव आज संसदमा पेश हुने

वैशाख २१ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव बिहीबार संसदमा पेश हुँदैछ ।

संसद् सचिवालयले प्रस्ताव पेसलाई सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसदमा पेश भएको प्रस्तावमा छलफलको मिति तोकिने बताए । बिहीबार पेस हुने प्रस्तावको छलफलको मिति बैठकबाट सभामुख ओनसरी घर्तीले तोक्नेछिन् ।

सभामुखले तोकेको समयअनुसार प्रस्तावमा छलफल सुरु हुनेछ । छलफलको प्रक्रियापछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइनेछ। सिफारिस समितिको आवश्यक छानबिनपछि प्रतिवेदन पुनः संसदमा पेश हुनेछ । समितिलाई बढीमा एक महिनाको समय रहनेछ । समितिले पेश गरेको प्रतिवेदनमा संसदमा मत विभाजन हुनेछ ।

वैशाख १७ गते सत्ता साझेदार दुई दल कांग्रेस र माओवादी केन्द्रका दुई सय ४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको थियो । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश तथा कुनै पनि न्यायाधीशमाथि महाभियोग दर्ता भएको पहिलोपटक हो । कार्कीमाथि कार्यकारीको अधिकार क्षेत्रमा प्रवेश गरेको मुख्य आरोप छ ।

Samsad

विशेष