उम्मेदवारी खोसिएपछि कोइराला सम्पर्कमा बस्न छाडे, तालमेलबाट एमाले खुसी
वैशाख–२२ । भरतपुर महानगरपालिकाको मेयरको टिकट आफ्नै पार्टीले खोसेपछि दिनेश कोइराला सम्पर्कविहीन भएर बसेका छन् ।
कांग्रेस–माओवादी तालमेलका कारण कोइरालाले दिएको उम्मेदवारीलाई बिहीबार कांग्रेसले फिर्ता लिएको थियो । बिहीबार अन्तिम समयमा कांग्रेसको केन्द्रले नै उम्मेदवारी फिर्ताको पत्र पठाएपछि निर्वाचन आयोगले कोइरालाको उम्मेदवारी खारेज गरिदिएको थियो ।
घटनाको केही अगाडिसम्म कोइरालाले उम्मेदावारी फिर्ता नलिने अडान लिएका थिए । पार्टीले एकाएक उम्मेदवारी फिर्ता लिएपछि कोइराला रन्थनिएको अनुमान गर्न गाह्रो छैन । तर उनी पार्टीको जिल्ला सभापतिसँगसमेत सम्पर्कमा छैनन् । जिल्ला सभापति जितनारायण श्रेष्ठले भने, ‘खै कहाँ छन्, के गर्दैछन् मलाई पनि थाहा छैन ।’ श्रेष्ठले यति भन्दै फोन काटे ।
चितवन कांग्रेसका पुराना कार्यकर्ता विकास कोइरालाले ‘जसले टिकट दियो उसैले खोस्यो’ भन्दै विषयलाई सामान्यीकरण गर्न खोजे । उनले भने, ‘उहाँसँग कुरा पनि नगर्नु होला । उच्च रक्तचापको बिरामी हो । तपाईले प्रश्न सोध्दा सोध्दै ढल्न बेर छैन ।’
कोइरालाको उम्मेदवारी पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएर खोसिदिएको चर्चा छ । ‘यो घटनाले उहाँ चिन्तामा हुनुहुन्छ’ कोइराला निकट चितवनका एक कांग्रेसीले भने ‘पार्टीमा माओवादीलाई समर्थन गर्ने निर्णयलाई लिएर चरम असन्तुष्टि छ ।’
भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएको हो । रेणु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
कांग्रेसले माओवादीलाई समर्थन गरेपछि भरतपुरमा एमाले कार्यकर्ता भने उत्साहीत भएका छन् । असन्तुष्ट कांग्रेसीहरुको मत एमालेले पाउने अपेक्षा उनीहरुको छ ।