राजनीति

पाँच गाउँपालिकामा दलित महिलाको उम्मेदवारी शून्य

पाँच गाउँपालिकामा दलित महिलाको उम्मेदवारी शून्य
वैशाख–२३ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य देखिएको छ । निर्वाचन आयोगको विवरणअनुसार डोल्पा जिल्लाको छार्का ताङसोङ र डोल्पो बुद्ध, मनाङको नारफु, मुस्ताङको लोमान्थाङ र हुम्लाको नाम्खा गाउँपालिकामा वडा सदस्यका लागि दलित महिलाको उम्मेदवारी परेको छैन । ती गाउँपालिकाका २८ वडामा दलित महिला वडा सदस्यको उम्मेदवारी शून्य देखिन्छ । मुस्ताङको दालोमे गाउँपालिकामा वडा सदस्यका लागि एक दलित महिलाको उम्मेदवारी परेको छ भने गोरखाको चुम नुव्री गाउँपालिकामा दुई जनाको उम्मेदवारी परेको छ । डोल्पा जिल्लाको शे फोक्सुन्डा गाउँपालिकामा दुई जनाको उम्मेदवारी परेको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा तीन जनाले उम्मदवारी दिएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका तीन वटा वडामा पनि दलित महिलाको उम्मेदवारी परेन । पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा हुँदैछ । त्यसमा महानगरपालिका चार, उपमहानगरपालिका एक, नगरपालिका ९२ र गाउँपालिका १८६ छन् । तीन प्रदेशमा रहेका कुला दुई हजार पाँच सय ९८ वडामा दलित महिला सदस्यका लागि सात हजार पाँच सय ८३ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी तीन प्रदेशभित्रका नगरप्रमुख-गाविस अध्यक्षका लागि दलित समुदायबाट करिब सात जना तथा उपप्रमुख-उपाध्यक्षका लागि करिब २४ जना उम्मेदवारी परेको छ । संविधानमा वडाध्यक्ष र चार सदस्यमध्ये दलले उठाउने उम्मेदवारमा एक महिला र एक दलित महिला हुनुपर्ने व्यवस्था गरिएको छ । सुशील दर्नाल, रासस

उम्मेदवारी गाउँपालिका स्थानीय तहको निर्वाचन

विशेष