राजनीति

बाबुरामलाई विरासत जोगाउने चुनौती

बाबुरामलाई विरासत जोगाउने चुनौती

वैशाख २५ । २०६४ सालको संविधानसभा चुनावमा पनि उनले झण्डै १३ हजार ८ सय मतको अन्तरमा चुनाव जिते । स्थानीय तहको चुनावमा उनी उम्मेदवार त होइनन् तर उनलाई पार्टीको इज्जत जोगाउने चुनौती छ ।

माओवादी केन्द्रबाट बाहिरिएर नयाँशक्ति पार्टी गठन गरेका भट्टराईले आफ्नो गृहजिल्लामा कस्तो परिणाम ल्याउलान् भन्ने चासो सर्वत्र छ। गोलाकारभित्रको हँसिया हथौडा चिह्नमा विगतका दुइटा चुनाव लडेका उनी अहिले ‘मसाल’ चिह्न बोकेर प्रचारमा हिँडेका छन् । मनोनयनअघि एक पटक आफ्नै जन्मस्थान रहेको पालुङटार नगरपालिकामा सभा गरेर राजधानी फर्केका उनी फेरि चुनाव प्रचारका लागि जिल्ला पुगेका छन् ।

भर्खरै गठन भएको पार्टी भए पनि गोरखाका गाउँ र नगरमा नयाँशक्तिको प्रचार बाक्लै छ । अन्य राजनीतिक दलकै हाराहारीमा नयाँशक्तिको प्रचार अभियान देखिन्छ । तर त्यो अभियान परिणाम नै हात पार्न सफल होला ? धेरैको चासो छ। ‘परिणाम नै त भन्न सकिन्न तर हाम्रो जिल्लामा प्रतिस्पर्धीमध्येको एउटा दलका रूपमा भने देखा परेको छ,’ स्थानीय कानुन व्यवसायी स्थानेश्वर दुवाडीको विश्लेषण छ। जिल्लामा गोरखा र पालुङटार दुइटा नगरपालिका तथा नौवटा गाउँपालिका गरी ११ स्थानीय तह छन् । तीमध्ये नयाँशक्तिले भट्टराईकै गृहनगर भएकाले जसरी पनि जित्नुपर्ने पहिलो सूचीमा पालुङटारलाई राखेको छ ।

त्यही भएर भट्टराईको आवतजावत पनि अन्य स्थानमा भन्दा यहीँ बढी छ । विगतमा पालुङटारमा माओवादी नै बलियो थियो । भट्टराईले पार्टी खोलेपछि स्थानीयहरू विभाजित छन् । ‘जनताले मैले राजेको बाटोमा मत दिन्छन्,’ चुनाव प्रचारका लागि आएका भट्टराईले कान्तिपुरसँग भने, ‘हिजो पनि जनयुद्धमा साथ दिएकै हुन्, २०६४ र २०७० को चुनावमा पनि जिताए, यसपालि पनि नयाँशक्तिका उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउने छन् ।’ भट्टराईले यस्तो दाबी गरे पनि चुनावलाई नजिकबाट नियाल्ने स्थानीय बुद्धिजीवीले भने नयाँशक्तिलाई अन्य पुराना दलका प्रतिस्पर्धीका रूपमा मात्र देखेका छन् ।

कुन दलको जितहार हुन्छ भन्नेमा नयाँशक्ति निर्णायक भूमिकामा रहेको स्थानीयको विश्लेषण छ। ‘कुनै दलको जितहारमा नयाँशक्ति निर्णायक हो, किनभने सबै दललाई प्रभाव पार्ने आधार यसमा छ,’ प्राध्यापक ऋषि खनालले भने । संघीय समाजवादी फोरमसँग चुनावी एकता गरे पनि गोरखामा केही वडा सदस्यबाहेक अन्य सबै स्थान नयाँशक्तिकै तर्फबाट उम्मेदवार खडा भएका छन् । नयाँशक्तिका अधिकांश नेता्कार्यकर्ता माओवादी केन्द्रबाटै आएका हुन् । त्यसैले सबैभन्दा बढी प्रभाव माओवादी केन्द्रलाई पर्ने देखिन्छ । माओवादी र नयाँशक्ति पार्टीबीच जिल्लामा तिक्त सम्बन्ध छ। उनीहरूबीच चुनावप्रचारका क्रममा शनिबार स्थानीय लक्ष्मीबजारमा झडपसमेत भयो । यो घटनाले उनीहरू दुवै एकअर्कामा विगतको तुष निकाल्दै अस्वस्थ प्रतिस्पर्धासमेत गर्दैछन् भन्ने पुष्टि हुन्छ ।

कान्तिपुर

baburam bhattarai

विशेष