राजनीति

उम्मेदवार नै छैनन् तर आफ्नै चिह्नमा मतदान गर्न निर्देशन

उम्मेदवार नै छैनन् तर आफ्नै चिह्नमा मतदान गर्न निर्देशन

वैशाख २५ । पार्टीका उम्मेदवार कोही छैनन्। मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिए। मनोनयन फिर्तापछि कसलाई सहयोग गर्ने भन्ने कुनै निर्णय भएको छैन ।

माओवादी केन्द्रका तर्फबाट बागलुङको मेयरमा उम्मेदवारी दिएका कुसुम बुढा र उपमेयर निर्मल श्रेष्ठले पार्टीको सल्लाहबिना उम्मेदवारी फिर्ता लिएका छन् । बागलुङको मेयर र उपमेयरमा उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्रले आफ्नै चुनाव चिह्नमा मतदान गर्ने निर्णय लिएको छ । माओवादी केन्द्र बागलुङ नगर कमिटीका अगुवा कार्यकर्ता तथा उम्मेदवारसहितको बैठकले उम्मेदवारी फिर्ता लिएपछि दुवै पदमा पार्टीको चिह्नमा मतदान गर्ने निर्णय भएको जानकारी जिल्ला प्रचार विभाग प्रमुख कृष्ण केसीले दिए । केही नेताको व्यक्तिवादी चरित्र र उम्मेदवारले मनखुसी फिर्ता लिँदा जिल्लामा गम्भीर समस्या देखिएको छु, उनले भने, अब पार्टीको अस्तित्व र प्रतिष्ठाका लागि उम्मेदवार नभए पनि माओवादी केन्द्रकै चिह्न हँसियाहथौडामा मतदान गर्न आग्रह गरिएको छ ।

बुढा र श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पार्टी कार्यकर्ताले सामाजिक सञ्जालमा तीव्र विरोध गरिरहेका छन् । यता कांग्रेस र एमालेले माओवादी केन्द्रको समर्थन बटुल्ने प्रयास जारी राखेका छन् । दुवै उम्मेदवारले नाम फिर्ता लिए पनि कुन पार्टीलाई समर्थन गर्ने भन्ने अझै टुंगो लागेको छैनु, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले भने । कुनै अमूक दललाई समर्थन गर्न उम्मेदवारी फिर्ता लिएको होइन, उहाँले भन्नुभयो, आन्तरिक कारणले उम्मेदवारी फिर्ता लिइएको हो । पार्टीमा यसबारे छलफल जारी छ। हामी छिट्टै एउटा निर्णयमा पुग्नेछौं ।

शान्तिप्रक्रियापछि पार्टी प्रवेश गरेका नेताहरूले पार्टीलाई सिध्याउन लागेको आरोप सामाजिक सञ्जालमार्फत लगाइएको छ । वाम तालमेल र कांग्रेससँगको कार्यगत एकतामा समेत चुकेको भन्दै जिल्लास्तरीय नेतृत्वबाट असन्तुष्ट बनेका गाउँ र नगरका नेता तथा कार्यकर्ताले गाउँ र वडा तहमा भने कतिपय स्थानमा कांग्रेस र कतिपय ठाउँमा एमालेसँग सहकार्य गरेका छन् ।

अन्नपूर्ण

विशेष