राजनीति

काठमाडौंमा चुनावी रौनक, यस्ता छन् दलका एजेण्डा

काठमाडौंमा चुनावी रौनक, यस्ता छन् दलका एजेण्डा

वेशाख २५ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ ।

महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने चर्चाले यहाँको चुनावी रौनक अझ बढाइदिएको छ ।

देशको केन्द्रीय राजधानीको निर्वाचन परिणाम आफ्नो प्रभाव, शक्ति र प्रतिष्ठासँग जोडेर प्रमुख दलले आफ्नो ध्यान काठमाडौँमा केन्द्रित गरेका छन् । दिनहुँ प्रत्येक टोलटोलमा बिहानै उम्मेदवारसँगै हुलका हुल समर्थक, पार्टीका झन्डा, माइकिङ, पर्चासहितको घरदैलो र सानासाना सभाले फेरि चुनावमय भएको छ ।

उम्मेदवारका आकांक्षीले फ्रि वाइफाइदेखि उज्यालो अभियानसहित मेट्रो रेलदेखि ट्रली बस चलाएर धुलो, धुँवा र खाल्डाखुल्डीरहित पूर्वाधार सम्पन्न व्यवस्थित राजधानी बनाउने प्रतिबद्धता मतदातासमक्ष गरेका छन् ।

उम्मेदवार पुनःनिर्माणलाई सार्थक बनाउँदै यहाँको भाषा, संस्कृति र सम्पदाको संरक्षण गरी गर्व गर्न लायक सुविधा सम्पन्न आधुनिक ‘स्मार्ट सिटी’ बनाउने चुनावी सङ्कल्प लिएर घरदैलोमा पुगिरहेका छन् । वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ ।

कुल ३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८६६ को उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालका अनुसार विभिन्न दल तथा स्वतन्त्र गरी महानगरको प्रमुखमा २७, उपप्रमुखमा १३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै वडा अध्यक्षमा २१९, खुला सदस्यमा ३५३, महिला सदस्यमा १६५ र दलित महिला सदस्यमा ८९ जनाको उम्मेदवारी परेको छ ।

विशेष