राजनीति

ललितपुर महानगरको विकासका लागि यस्ता छन् हरिकृष्ण व्यञ्जनकारका विकासे एजेण्डा

ललितपुर महानगरको विकासका लागि यस्ता छन् हरिकृष्ण व्यञ्जनकारका विकासे एजेण्डा

वैशाख २५ । नेकपा एमाले ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यज्यनकारले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् ।

आफूसँग विकासका थुप्रै एजेण्डा भएको र त्यसलाई कार्यान्वयन गर्नका लागि सक्षम व्यक्तिको आवश्यकता रहेको भन्दै उनले महानगरपालिकामा नेकपा एमालेले जित्ने उनको दाबी रहेको छ । उनले विकासका चुनौतीहरु धेरै भएको र त्यसलाई व्यवस्थित गर्न हरसम्भव पहल गर्ने बताएका छन् ।

यस्ता छन् उनले महानगरवासीसँग गरेका प्रतिवद्धताहरु

पहिलो प्राथमिकता भनेको धूलो र हिलो हटाउनु नै हो । घाम लाग्यो भने धूलो र वर्षात् भयो भने हिलोले महानगरवासीलाई सताउने गरेको छ । यसका लागि सफाइ मेसिनहरूको प्रबन्ध मिलाउनुपर्ने हुन्छ । सडकलाई पक्की बनाउनुपर्ने छ ।

ललितपुर महानगरवासीमा खानेपानीको समस्या चर्को छ । यहाँको पानीको स्रोतले धानेको छैन । यसका लागि वैकल्पिक स्रोतको खोजी गर्नुपर्छ । ढल निकासको समस्याले महानगरलाई दुर्गन्धित मात्र बनाउँदैन, यसबाट उत्पन्न हुने रोगको संक्रमणले पनि सताउने गरेको छ । ढल निकासको ठोस व्यवस्थापन गर्नुपर्छ । महानगरका विभिन्न ठाउँमा अव्यवस्थित रूपमा टाँगिएका तारले समस्या उत्पन्न गराइरहेको छ । यसलाई भूमिगत व्यवस्थापन गर्ने सोच मेरो छ ।

भूकम्पप्रभावित क्षेत्रका घर, मन्दिर र सांस्कृतिक सम्पदाको संरक्षण गर्नु महानगरपालिकाको आवश्यकता हो । ललितपुर महानगरपालिकाका पर्यटकीय स्थल भूकम्पले क्षतविक्षत भएका छन् । त्यस्ता सम्पदाको संरक्षण गरी पूर्ववत् अवस्थामा पु¥याउनुपर्छ । मेरो सोच त्यसैमा केन्द्रित हुनेछ । योजनाबद्ध रूपले संस्कृति संरक्षण गर्ने सोच मैले बनाएको छु ।

धूलो, हिलो हटाउनका लागि सडक विस्तारका काम द्रुत गतिमा अघि बढाउनुपर्छ । पर्यटकका लागि ललितपुर महानगरपालिकामा दुईवटा पाँचतारे होटल बनाउने योजना छ । यस्ता काम गर्न आर्थिक स्रोतको आवश्यकता महत्वपूर्ण हुन्छ । संविधानले प्रत्यायोजन गरेका अधिकार प्रयोग गरी आर्थिक स्रोत जुटाउन सकिने विश्वास मैले लिएको छु । ललितपुर महानगरपालिकासँग यस्ता काम पूरा गर्न पर्याप्त सम्भावना छन् । यसको अध्ययन मैले गरेको छु ।

जग्गाको अनियन्त्रित वितरणले बस्तीको विकास पनि अराजक ढंगले भइरहेको छ । सामाजिक क्षेत्रमा बालबालिका, ज्येष्ठ नागरिक र युवाका लागि ठोस योजनालाई कार्यान्वयन गरिनेछ । बालबालिका देशकै कर्णधार हुन् । उनीहरूको शिक्षा, स्वास्थ्यको उचित प्रबन्ध मिलाउने योजना अगाडि बढाउनेछु । वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्छ । सडकलगायत विभिन्न भौतिक संरचनालाई अपांगमैत्री बनाउने विचार गरेको छु । नयाँलाई त्यसैअनुसारको संरचना बनाउने प्रावधानको व्यवस्था गरिनेछ ।

युवालाई विदेश जानबाट रोक्न स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाउनेछौं । त्यसका लागि तालिमको व्यवस्था गर्नुका साथै बेरोजगारलाई रोजगारीका अवसर दिलाउने कार्यक्रमहरू सञ्चालन गरिनेछ । निःशुल्क शिक्षा नपाएका, पठन–पाठनमा समस्या भएका बालबालिकाको पहिचान गरी उनीहरूलाई सहयोग उपलब्ध गराउने नीतिको विकास र विस्तार गर्नेछौं ।

यसैगरी बालबालिकाको स्याहार–सुसारमा महानगरपालिकाका तर्फबाट स्याहार केन्द्रको निर्माण गर्ने योजना छ । ललितपुर महानगरपालिकाका बालबालिकालाई सूचना तथा सञ्चारसँग जोड्न हरेक क्षेत्रमा वाइफाइ जोन निर्माण गर्ने मेरो योजना छ ।

एकल महिलालाई उचित व्यवस्थापनका लागि नीति निर्माण गरिनेछ । उनीहरूलाई आर्थिक क्षेत्रमा जोड्न यस्ता नीतिले सहयोग गर्ने विश्वासका साथ केही योजनाको परिकल्पना गरेको छु । मैले यसबारे विशेष ध्यान पुर्याएको छु । अनियन्त्रित बस्ती विकासलाई रोकेर व्यवस्थित सहर विकास गर्न भूउपयोग नीतिको निर्माण गर्नेछु ।

यसबाट खेतीयोग्य जमिनमा घर बनाउनबाट रोकेर बसोबासका लागि छुट्टै सहरको विकास गरिनेछ । ललितपुर महानगरपालिका विभिन्न सांस्कृतिक पर्व र जात्राको धनी छ । मच्छिन्द्रनाथको जात्रा त्यसमध्ये प्रमुख रहेको सबैलाई ज्ञात भएको विषय हो । यस्ता जात्रा र पर्वका बारेमा प्रचार–प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजनालाई विशेष रूपमा अगाडि बढाउने लक्ष्य लिएका छौं । पाँच वर्षमा महानगरपालिकालाई यस्ता चुनौती र समस्याबाट मुक्त गराउन सक्ने विश्वास छ ।

नेकपा एमालेको नीति आर्थिक वृद्धि र समृद्धि नै हो । यसका लागि सबै जनताले एमालेका उम्मेदवारलाई जिताउँछन् भन्ने विश्वास मैले लिएको छु । जसको नीति हुन्छ उसको नेतृत्व हुँदा आर्थिक वृद्धि र समृद्धिमा सकारात्मक परिवर्तन आउने विश्वास छ ।

विशेष