चुनाव प्रचार गर्ने समय तीन दिन मात्रै बाँकी
वैशाख–२५ । स्थानीय तहको निर्वाचनका लागि अब प्रचारप्रसार गर्न तीन दिन मात्रै बाँकी भएको छ । निर्वाचनको ४८ घण्टा अगाडिदेखि मौन अवधि शुरु हुन्छ । जसअनुशार वैशाख २८ गते दिउँसो पाँच बजेदेखि राजनीतिक दल, उम्मेदवारहरुले प्रचारप्रसारका सम्पूर्ण कामहरु रोक्नु पर्ने छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्,‘निर्वाचन आचारसंहितामा मौन अवधि शुरु भएपछि कसैले पनि प्रचार प्रसारका काम गर्न पाउँदैनन् । आयोगले सो अवधिमा निगरानी पनि बढाउनेछ ।’ अब प्रचार प्रसारका लागि आइतबार, सोमबार र मंगलबार दिउँसो पाँचबजेसम्मको अवधि बाँकी छ । तीन प्रदेशमा अहिले स्थानीय तहको निर्वाचनका लागि दलहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सरकारले वैशाख २५ गतेदेखि पाँच दिनसम्म विद्यालय विदा दिने निर्णय पनि गरेका छ ।