राजनीति

विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा
वैशाख - २५ । नेत्रविक्रम चन्दनिकट अखिल क्रान्तिकारीले कैलाली जिल्लामा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनकाक्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा लगाइ पक्राउ गरेको भन्दै शैक्षिक आमहडतालको घोषणा गरेको अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माले जानकारी दिएका छन् । पक्राउ परेका आफ्ना विद्यार्थी नेताको कुनैपनि संलग्नता नहुँदा–नहुँदै रिहाइ गर्नुको सट्टा उल्टो बाहनाबाजी गर्दै रिहाइ नगरिएकाले आजदेखि शैक्षिक हडतालको घोषणा गरिएको आइतबार जारी गरिएको विज्ञप्तिमा जनाएको छ । कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले कैलाली सहसचिव रमेश साउँदलाई नियन्त्रणमा लिइ सार्वजनिक मुद्दा अपराध ऐनअन्तर्गत् मुद्दा चलाइएको तर अञ्चल ब्युरो इन्चार्ज धामीलाई भने पक्राउ नगरिएको दाबी गरेका छन् ।

विशेष