राजनीति

सटुक्क बनेको ऋचाको आधा लभ

सटुक्क बनेको ऋचाको आधा लभ

चलचित्र ‘फर्स्ट लभ’मा हिरोइनको रुपमा डेब्यु गरेकी अभिनेत्री ऋचा शमाले ‘आधा लभ’बाट निर्मात्रीको रुपमा डेब्यु गरिसकेकी छिन् । संयोग पनि कस्तो परेछ । मायामा एक पटक असफल भएकी उनको फिल्मका पहिलो डेब्यु पनि मायाबाटै सुरु हुन्छन् । त्यो पनि पहिलो र अहिले आधा । अहिले उनका अघिल्तीर यस्तै प्रश्नले वाण हान्छन् । अभिनेता विनय श्रेष्ठसँगको पाँच वर्षसम्मको प्रेम सम्बन्ध टुटेपछि उनलाई प्रश्नको ओहिरोले कहिल्यै छोडेन । त्यसमाथि पनि अहिले फिल्म ‘आधा लभ’ को ट्रेलर रिलिज भएपछि उनलाई कतै आफ्नै जीवनसँग मेल खाने कथा र विषयवस्तु त होइन भन्ने प्रश्नहरु सोझिन्छन् । पत्रकारका यस्ता प्रश्नका कुटनीतिक जवाफ फर्काउन पनि माहिर छिन् उनी । अभिनेत्रीदेखि निर्मात्रीसम्मको यात्रामा पुग्न उनलाई वर्षौको मिहनत लाग्यो । हुन त कक्षा ६ मा पढ्ने समयमा विद्यालयमा गुरुले तिमीलाई भविष्यमा के बन्न मन छ भनेर प्रश्न गर्दा अरु साथीले डाक्टर र इन्जिनियरको जवाफ दिँदा उनी आफू हिरोइन बन्छु भन्ने जवाफ दिन्थिन् । त्यो माहोलमा आफू एक्लोको अनौठो सपनाले पूरा कक्षालाई नै अनौठो आभास दिलाउँथ्यो । उनको सपना सुनेर सबैजना गललल्ल हाँस्थे । कक्षामा हिरोइन बन्छु भनेर सपना साटेको १० वर्ष पछि अहिले उनले आफ्नो सपनालाई यथार्थमा परिणत गराइसकेकी छिन् । पहिलो फिल्म ‘फस्र्ट लभ’ को सफलता पछि उनलाई अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । अभिनयमा माहिर उनी आफूलाई विभिन्न भूमिकामा ढाल्न मन पराउँछिन् । हिरोइन भनेर मेक अप मात्र लगाउने र फेसन मात्र गर्ने कुरामा उनको ध्यान छैन । बरु फिल्ममा ग्लामरस ऋचालाई भूलाएर पूर्ण रुपमा आफूलाई पात्रमा डुबाउने उनको बानी छ । ‘को आफ्नो’, ‘टलक जंग भर्सेस टुल्के’, ‘बाटोमुनीको फूल २’ यसका गतिला उदाहरण हुन् । त्यसो त उनलाई फेसन गर्न नआउने हिरोइनको ट्याग पनि दिइन्छ । तर, यस्ता ट्यागले उनलाई केही फरक पर्दैन किनभने उनी फिल्ममा गर्ने भूमिका र पात्रमा विश्वास गर्छिन् । विभिन्न फिल्ममा अभिनय गरिसकेर फिल्म निर्माणमा हात हाल्ने उनको पहिल्यैदेखिको चाहना थियो । यो चाहनालाई अभिनेता अर्पण थापाले सफल बनाउनमा मद्दत गरेका छन् । फिल्म ‘आधा लभ’ को कथा आफैंले लेखेका अर्पणले ऋचालाई निमात्रीको भूमिकामा काम गर्न आग्रह गरे । आग्रहमा मात्र सिमित भएर त उनी मान्नेवाला थिइनन् । फिल्मको कथा सुनिसकेपछि उनलाई यसमा त काम गर्नैपर्छ भन्ने इच्छा प्रकट भयो । यस्तो कथामा अहिलेसम्म पनि नेपालमा फिल्म नबनेकाले ऋचालाई उक्त कथामा काम गर्ने इच्छा पलाएर आयो । यस्तो कथामा अहिलेसम्म फिल्म बनेको छैन भन्नेवित्तिकै उनलाई प्रश्न सोझियो, कस्तो फिल्म ? तब उनले बेलीविस्तार लगाइन्, ‘यो फिल्म एउटै अपार्टमेन्टमा बस्ने पाँचजना मानिसहरुको जीवनमा आधारित छ । मुख्य रुपमा यसले शहरी जीवशैलीलाई मध्यनजर गर्छ र हरेक मानिसका जीवनमा घटेका आधा अधुरा मायाप्रेमका कथालाई गाँसेको छ । यो कथा वास्ताविक जीवनमा घट्ने घटना भएको हुँदा कहीँ न कहीँ दर्शकहरुले फिल्मका पात्रहरुमा आफैँलाई पाउन सक्नुहुनेछ ।’ यो जीवनको आधा अधुरो प्रेममा कहीँ तपाईंको जीवनले त मेल खाएको छैन ? प्रश्न झर्न नपाउँदै उनले भनिन्, ‘यो कथा मसँग व्यक्तिगत रुपमा जोडिएको छैन । पूर्ण रुपमा नजोडिएपनि कसै न कसैको जीवनमा आधा अधुरा माया प्रेम त पक्कै हुन्छन् । मेरो पनि भयो । तर, मेरो व्यक्तिगत कथाभन्दा पनि दर्शकले त्यहाँ आफ्नै जीवनको कथा भेट्न सक्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’ फिल्ममा शहरी जनजीवनका वास्ताविक घटनालाई देखाइने छ । विशेषगरि अपार्टमेन्टमा बस्ने पाँच व्यक्तिको जीवनमा आधारित हुनाले यसले अपार्टमेन्टमा बस्ने मानिस र उनीहरुको वास्ताविकतालाई झल्काउँछ । यसकासाथै फिल्मले प्रेम गर्नको लागि उमेरले नछेक्ने कुरालाई समेत देखाउँछ । टिका पहारी र मिथिला शर्माबीचको प्रेम र अर्पण थापा र ऋचा शर्माबीच फिल्को ट्रेलरमा प्रेम देखाइएको छ । यही जेठ २६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘आधा लभ’ को प्रचारकोलागि निर्माण टोली अघि बढिसकेका छन् । कलेजका विद्यार्थीलाई मध्यनजर गराएर फिल्मको प्रचार हुने ऋचाले बताइन् । सन् २००६मा र्याम्प मोडल हुँदै अभिनय र निर्मात्रीसमेत भइसकेकी ऋचालाई पहिलो पटक म्युजिक भिडियोमा स्वर्गीय निर्देशक आलोक नेम्बाङले पहिलो अवसर दिएका थिए । पहिलो सानो हुँदा सानो सपना र अहिले परिपक्व हुँदै गएपछि अनायासै सपनाका आकार प्रकार पनि ठूलै हुँदै जाने उनी बताउँछिन् । सपनाको सागर हुँदै महासागरमा छिर्ने मन गरेकी ऋचाको अब फिल्म स्कुल खोल्ने ठूलो सपना छ । कसैले सफलताको शुत्र सोधिहाल्यो भने उनी भन्छिन्, ‘आफूले गरेको काममा सन्तुष्ट हुनु नै मेरो लागि सफलताको शुत्र हो ।’
प्रस्तुतिः कञ्चन न्याैपाने

स्थानीय तहको निर्वाचन

विशेष