राजनीति

सुतिरहेका बेला जलेर गम्भीर घाइते राउटे कपिल बीस दिनको उपचारपछि घर फर्किदैँ

सुतिरहेका बेला जलेर गम्भीर घाइते राउटे कपिल बीस दिनको उपचारपछि घर फर्किदैँ
वैशाख २६ । स्रोह महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते १८ वर्षीय कपिलबहादुर शाही (राउटे)को स्वास्थ्यमा सुधार आएपछि भोलि घर फर्किंदै छन् । उपचारका लागि ट्रमामा आउँदा जलेर शरीरमा भएका घाउमा किरा परेको र मासु कुहिएर दुर्घन्धित अवस्था रहेका कपिल आज भने सामान्य हिँड्डुल गर्न र बोल्न सक्ने भएका छन् । पूर्णरुपमा उपचार हुन अझ केही समय लाग्ने भए पनि १२ वर्षपछि हुन लागेको राउटेको कुल देवताको पूजाका लागि घर नगई नहुने भएपछि उनी भोलि घर फर्कन लागेका छन् । उनको स्वास्थ्य अवस्थाबारे बझ्न र बिदाइ गर्न आज ट्रमा सेन्टर पुगेकी सभामुख ओनसरी घर्तीले कपिलको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भने, ‘नेपालले नयाँ अनुहार फेर्दै छ । हामीले बनाएको संविधान कार्यान्वयन हुँदैछ । स्थानीय तहको निर्वाचनले धेरै विकासका ढोका खोल्नेछ । राउटेलाई पनि आधुनिक समाजको हिस्सा बनाउन काम गर्नेछ । उनीहरुका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि मैले पहल गर्नुेछु ।’ सभामुखसँग कुरा गर्दै बिरामी कपिलले जङ्गलमा उपचार नपाउँदा धेरै पीडा भएको सुनाए । उनले भने, ‘मलाई धेरै खुसी लागेको छ । अहिले मलाई पहिलेभन्दा निकै राम्रो छ । म यति राम्रा डाक्टरसँग नआइपुगेको भए त मरिसक्थे होला । दीपेश दाइले मलाई काठमाडौँ ल्याएर उपचार गर्न सहयोग गर्नुभयो । म निकै खुसी छु ।’ उनले उपचारमा सहयोग गर्ने चिकित्सक, दीपेश र आफ्नी भान्जीलाई धन्यवाद दिँदै सरकारले राउटेलाई दिँदै आएको रु दुई हजार भत्ता बढाएर पाँच हजार पुर्याइदिन सभामुख मार्फत अनुरोध गरे । ‘आजकल जङ्गलमा काठ सजिलै काट्न पाइँदैन । काठ नभएपछि हामी कसरी सामान बनाई बेचेर गुजारा गर्ने रु त्यसैले हाम्रो भत्ता बढाई दिनुपर्यो,’ उनले भने । गैरआवासीय नेपाली सङ्घ बेल्जियमको पहलमा बेल्जियमका ट्रमा विशेषज्ञ डा गिअ ब्युकोर्टको सहयोगमा उनलाई दैलेखबाट गत वैशाख ७ गते साँझ काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमा सेन्टरका प्लास्टिक सर्जरी विभाग प्रमुख डा पियुष दाहालको नेतृत्वमा डा अपार लामिछाने, डा श्वेता जैसवाल, डा पशुपतिलगायतको टोलीले कपिलको उपचार गरेको थियो । उपचारमा संलग्न चिकित्सक पियुष दाहालका अनुसार कपिलको आउँदाको अवस्था नाजुक भएको, काखी र पेटको भाग बढी बिग्रेको तथा दुर्गन्धित अवस्थामा रहेको थियो । ‘अहिले धेरै सुधार भइरहेको छ । हामीले पहिलो चरणमा घाउ सफा गर्ने, दुर्गन्ध हटाउन शल्यक्रिया ग¥यौँ । त्यसपछि छाला प्रत्यारोपण गर्यौँ । उनलाई पूरै निको हुन समय लाग्छ । हामीले निको भएपछि लान आग्रह गरेका थियौँ तर उहाँको जानै पूजाका कारण पुन सुर्खेत अस्पतालमा आई उपचार जारी राख्ने सर्तमा जान दिएका हौँ ।’ राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष तथा राउटेकी भान्जी सत्यदेवी खड्काको पहलमा काठमाडौँमा उपचारका लागि आउन सहमत भएका थिए । लामो समयदेखि राउटेका लागि काम गर्दै आएकी अध्यक्ष अधिकारीलाई राउटेले भान्जी मानेका छन् । उनले भने, ‘२०७२ साल पुषमा उनी जलेका हुन् । हामीले दुई दिनपछि मात्र थाहा पायौँ । जङ्गलमै गएर भेटेका थियौँ । उपचारका लागि जाऔँभन्दा उनीहरु क्यै गरी राजी भएनन् । यो कुरा उपराष्ट्रपतिका पुत्र दीपेश पुनलाई थाहा थियो । उनले पार्टीको युरोप भ्रमणमा जाँदा एनआरएनका महासचिव लोकप्रसाद दाहाललाई भनेका थिए । अनि दाहालको प्रयासले नै बेल्जियमका ट्रमाका विशेषज्ञ नेपाल आइपुगेको थियो ।’ उपराष्ट्रपति पुत्र पुनले विदेशी चिकित्सकलाई दिएर दैलेख पुगेको अनुभव सुनाउँदै कपिल तीन दिन पूजामा सहभागी भएर पुनः सुर्खेतस्थित अस्पतालमा आई फिजियोथेरापीसँगै उपचार जारी राख्ने बताए । उनले भने, ‘सरकारले ल्याएका चेतनाका कुनै कार्यक्रम नेपालका लोपोन्मुख अवस्थामा रहेका राउटेसम्म पुग्न सकेको छैन् । त्यसैले उनीहरु अहिले पनि बिरामी हुँदा चिकित्सकसँग उपचार गराउन वा औषधि खान मान्दैनन् । त्यसका लागि सरकारले पहल थाल्न आवश्यक छ ।’ नेपालमा राउटको सङ्ख्या १५० छ । पश्चिम नेपालको दैलेख, सुर्खेत र सुदरपश्चिमका जिल्लाका जङ्गलमै फिरन्ते जीवन बिताइरहेका छन् । सरकारले आज मात्रै कपिलको थप उपचार र राउटेको कुल पूजाका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।
कल्पना पौडेल

विशेष