निर्वाचनलगत्तै मतगणना गरिने
वैशाख २७ । निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ । दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो ।
‘वैशाख ३१ गते निर्वाचन सकिएर मतदानस्थलमा मतपेटिका पुगेपछि मतगणना सुरु हुन्छ,’ निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने । स्थानीय तह निर्वाचन ऐनमा मतदान अधिकृतले गाउँपालिकारनगरपालिकाका वडाभित्रका सबै मतदानकेन्द्रका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नेछ’ भन्ने व्यवस्था छ । ‘निर्वाचन ऐनको व्यवस्थाअनुसार मतगणना हुन्छ,’ आयुक्त दाहालले भने ।
आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानलगत्तै मतदान अधिकृतसमक्ष मतपेटिका पुर्याउनुपर्छ । ‘साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकालाई मतदान गर्न दिने भएकाले थप समय लाग्न सक्छ,’ आयोगका एक अधिकृतले भने, ‘निर्वाचनका कारण दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना हुनसक्ने देखिन्छ । तर कुनै स्थानमा ३१ गतेको रातिबाट पनि मतगणना सुरु गर्न सकिन्छ ।’
प्रमुख विपक्षी एमालेले मतपेटिकाको सुरक्षाको प्रश्न उठाइरहेका बेला आयोगले मतदानलगत्तै मतगणना गर्ने जनाएको हो ।
अन्नपूर्ण
nirbachan