अपराध सुरक्षा राजनीति

किराती समुदायको उभौली पर्व सुरु

किराती समुदायको उभौली पर्व सुरु

वैशाख २७ । किराती समुदायको महान् चाड ‘उभौली’ आज देखि सुरु भएको छ ।

वैशाखे पूर्णिमादेखि चाड सुरु भएपछि १५ दिनसम्म किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाउने गर्छन् ।

दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराती समुदायले यो चाडलाई आ–आफ्नै भाषाले सम्बोधन गर्छन् । पूर्वी पहाडी भेगतिर सघन बसोवास भएका राई, लिम्बू, याक्खा र सुनुवार समुदायले आफूलाई किरातीका रूपमा मान्दै आएका छन् । जसअनुसार यो चाडलाई राईले साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्छन् ।

उपत्यकाको ललितपुर, काठमाडौँ र भक्तपुरमा पनि सामूहिक रूपमा भेला भएर किरातीहरूले साकेला नाच्दै चाड मनाउँदै आएका छन् । चाड सुरु भएको दिन ललितपुरको हात्तीवनमा रहेको सामूहिक माङखिम मन्दिरमा पूजा गरेपछि साकेला सुरु गरिन्छ । किरातीहरूले बालिनाली लगाउने र उठाउने समयलाई उभौली र उधौलीको चाडका रूपमा मनाउने गर्छन् । वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुङ्गी क्रमशः बेँसीबाट लेकतिर सर्ने तथा रूखबिरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उभौली यामका रूपमा लिइन्छ ।

मुख्यतः कृषि प्रणालीमा आधारित भएर जीवनयापन गरिरहेका किरातीबीच यही यामलाई आधार मानेर खेती लगाउने तथा खेतीपाती सप्रियोस् भनेर पूर्वजसँग आशीर्वाद माग्ने गरिन्छ । आफ्नो सघन बसोवास भएको क्षेत्रतिर वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ ।

यसैबीच, यो चाडका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहेका नेपाली किरात धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उनिहरुले शुभकामना दिएका हुन् ।

hatya

विशेष