राजनीति

चुनावी प्रचारप्रसार भड्किलो र खर्चिलो बन्दै

चुनावी प्रचारप्रसार भड्किलो र खर्चिलो बन्दै
वैशाख - २७ । निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् । निर्वाचन आउन चार दिनमात्र बाँकी छँदा सिन्धुपाल्चोकका सबै गाउँपालिका र नगरपालिकामा चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारले व्यापक खर्च गरेका छन् । निर्वाचन आयोगले उम्मेदवारले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको सीमा नै तोकेको भए पनि त्यसलाई बेवास्ता गर्दै उनीहरूले दैनिक प्रचारप्रसारका लागि लाखौँ रुपैयाँ खर्च गर्ने गरेका पाइएको छ । “कार्यकर्ता परिचालन गर्नैपर्‍यो, गाडीभाडा, खाजाखाना खर्चलगायतमा दैनिक एक लाखदेखि रु एक लाख ५० हजारसम्म त खर्च भइहाल्छ,” नगरप्रमुखका एक उम्मेदवारले भने । उम्मेदवारले दैनिक सदरमुकाम चौतारा, बाह्रबिसे, मेलम्ची, जलविरेलगायत ठाउँमा र्‍यालीको नाममा लाखौँ रुपैयाँ खर्च गर्दै आएका छन् । उनीहरुले प्रत्येक दिन बजार क्षेत्रमा गाडी तथा मोटरसाइकल र्‍याली गर्दै आएका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा नगरप्रमुखको उम्मेदवारैपिच्छे दैनिक सात वटादेखि १० वटासम्म गाडी प्रयोग गर्ने गरेको पाइएको छ ।

घरदैलो अभियान तीव्र

निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोकका तीन वटा नगरपालिका तथा नौ वटा गाउँपालिकामा निर्वाचनको माहोल तात्दै गएको छ । अहिले निर्वाचनमा भाग लिएका सम्पूर्ण दलका उम्मेदवार मतदातासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गर्न पाउन लागेकोमा खुसी व्यक्त गर्दै बाह्रबिसे नगरपालिकाका २१ वर्षीय सन्तोष कार्कीले भने, “आफ्नालाई होइन राम्रा उम्मेदवारलाई भोट दिन्छु ।” जिल्लामा विभिन्न दलले उम्मेदवारी दिएपनि मुख्यगरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्रतिष्पर्धा हुने देखिएको छ । संविधानसभा निर्वाचनमा काँग्रेस, एमाले र माओवादी केन्द्रले एक एक सिटमा जित हासिल गरेको थियो । बाह्रबिसे नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

Gorkha

विशेष