जनार्दन शर्मा कृषिका ‘जेटिए’ थिए, आफ्नै हाकिमलाई पनि टेर्दैन थिए
मदन राई
एउटा सरकार ढल्यो, अर्को बन्यो । नेकपा माओवादी केन्द्रले केही मन्त्रीलाई निरन्तरता दिएको छ । अघिल्लो सरकारमा ऊर्जा मन्त्रालय सम्हालेका जनार्दन शर्मालाई अहिले गृहको जिम्मेवारी दिइएको छ । यसो गर्नु पछाडि एउटा महत्वपूर्ण कारण छ । त्यो के भने अब पनि राम्रो काम गरेर माओवादीले आफ्नो शाख जोगाएन भने यो पार्टी समाप्त हुन्छ भन्ने उसले बुझ्यो । यहि भएर जसरी भए पनि राम्रो काम गर्नेलाई निरन्तरता दिन खोजेको जस्तो लाग्छ ।
जहाँसम्म जनार्दन शर्माको कुरा छ, यिनी त कृषिका चेला हुन् । चार सय अंकको एसएलसी पास गरेर जुनिएर टेक्निकल एसिस्टेन्ट (जेटिए) बनेका थिए । शर्माको कपि मैले नै चेक गरेको थिएँ । यसकारण जनार्दन मेरा त चेला हुन् । जेटिए भएपछि उनी रुकुमको एक तरकारी फारममा काम गर्न थाले । उनका हाकिम थिए लक्ष्मण पुन । पुन अहिले युएनडिपीमा जागिरे छन् ।
तरकारी फारममा काम गर्दैदेखि मैले जनार्दनमा अलिकति ध्यान दिन थालेको थिएँ । यी अत्यन्त विद्रोही स्वभावका थिए । धेरैले त यिनलाई छुच्चो पनि भन्थे । कुरा चित्त बुझेन कि ठोकी हाल्ने स्वभाव थियो यिनमा । अरुले पनि ‘यो जनार्दन कति छुच्चो हो ?’ भनेको सुन्थे । उनले आफ्नै हाकीमको कुरा पनि सुन्दैन थिए । तर मान्छे पहिलेदेखि नै टाठो थिए ।
यिनी संसदमा कुर्सी भाँच्नेदेखि मान्छे मार्ने हिंसात्मक युद्धमा पनि लागे । अहिले बल्ल यिनको चेत खुलेको छ । माओवादीहरुको अलि अलि बुद्धी आउँदैछ । राष्ट्रको लागि आर्थिक समृद्धि आवश्यक छ भन्ने बुझ्दै छन् । विध्वंश मात्रै गर्न जानेका माओवादीहरुले फाटफुट अब राम्रो काम पनि गर्न थालेका हुन् कि जस्तो देख्दैछु । यो झुक्किएर भएको हो भने त म केही भन्दिनँ ।
अब यी जनार्दन शर्माकै कुरा जोडौं । यी मान्छे उग्र छन् । दिएको काम भने जसरी पनि फत्ते गर्ने स्वभावका छन् । यहि भएर यसपटक ऊर्जामा यिनले राम्रै गरे । तर अब अर्को परीक्षाको घडी आएको छ ।
हाम्रो देश, समाजको विकृतिको मूल भनेको गृहमन्त्रालय हो । त्यो मन्त्रालय नसुध्रेसम्म केही हुनेवाला छैन । अब जनार्दन शर्माले फरार अपराधि, गुन्डा, बदमास, हप्ता असुली, तस्करी, राजनीतिको आवरणमा देश विरोधी क्रियाकलाप गर्ने, विखण्डनवादीहरुलाई कसरी छानीछानी ठोक्छन् मलाइ हेर्न मन छ ।
यो काममा पनि जनार्दन शर्मा सफल भए भने उनी वास्तवमै पास भएको मान्नु पर्छ । यसअघि बुद्धी बिग्रेर मान्छे मारेको दोष कटाउने बेला यिनले पाएका छन् । यो अवसरलाई यिनले सदुपयोग गर्न सक्छन् कि भन्ने मेरो अपेक्षा छ ।
म जुन पार्टीको, जुन विचारधाराको मान्छे भए पनि राम्रो काम गरेकोलाई राम्रै भन्छु । नराम्रो गरेकाहरु मेरै पार्टीको भए पनि बाँकी राख्दिनँ । किनभने म त एउटा व्यक्तिको लागि राम्रो बनिन, एउटा टोल, गाउँ बनाउन आएकै होइन । म त देश राम्रो बनाउन राजनीतिमा आएको हुँ । यसकारण मलाई कसले के भन्छ भन्ने कुरा मतलव छैन ।
मैले यसो किन भनेको भने, माओवादीबाट बाबुराम भट्टराई निस्केपछि त्यो पार्टी अब प्राणविनाको पार्टी भएको छ । कुनै पनि पार्टीको प्राण भनेको उसको आर्थिक एजेन्डा हो । बाबुराम निस्केपछि माओवादीको आर्थिक एजेन्डा समाप्त भइसकेको छ । अब यो पार्टी प्राण बिनाको पार्टीमा सिमित भएको छ । यसैकारण माओवादीले आफ्नो अस्तित्व रक्षाको लागि विभिन्न तिकडम गर्दै आएको छ ।
खुराफाती होइन, काम गर्ने वातावरण सरकारमा बसेका जिम्मेवारहरुले बताउनु पर्छ । विकास त देशवासीले गर्ने हो सरकारले होइन । सरकारको काम त सहजीकरण गरिदिने मात्रै हो । सडक राम्रो बनाइदिने र सुरक्षा राम्रो दिने हो भने देश बनाउने काम देशवासीको हो । ‘कुनै पनि किशिमको असुरक्षा हुँदैन । मज्जाले लगानी गर्ने, उत्पादन गर्ने हो ’ भन्ने भावना स्थापित भएपछि देश आफै बन्छ । सुरक्षाको ग्यारेन्टी सरकारले गरिदिनु पर्छ । आधुनिक समयमा हुनु पर्ने यहि हो ।
(राई नयाँ शक्तिका नेता तथा कृषि वैज्ञानिक हुन् । यो लेख उनीसँग गरिएको कुराकानीमा आधारित हो ।)