राजनीति

शान्ता र सरस्वतीको बाबुरामलाई पत्रः अरु कति नेपाली मारेर तपाईंको हिंसाको भोक शान्त हुन्छ ?

शान्ता र सरस्वतीको बाबुरामलाई पत्रः अरु कति नेपाली मारेर तपाईंको हिंसाको भोक शान्त हुन्छ ?

बाबुराम भट्टराईज्यू

गगन थापा र तपाईंका बारेमा पत्रकार राजकुमार रेग्मीले एउटा जमघटमा गर्नुभएको टिप्पणी झलझली सम्झाउँदै छौं । उहाँको भनाइ थियो– ‘सडकमा हिँडिरहेका कोही दुईजना मानिसले आपसी गफगाफमा बाबुराम र गगनको आलोचना गरे अनि बटुवाले सुने भने ती दुईजनाले पिटाई खान सक्थे । अब त्यो दिन गयो, अहिले चाहिँ बाबुरामको प्रशंसा गरेर गफ गर्दै बाटोमा हिँड्दा सानो स्वरमा कुरा गर्नुपर्छ, किनभने सुने भने बटुवाले पिट्न बेर लाउँदैनन् ।’ हेर्नुस् त तपाईंको व्यक्तित्वको क्षयीकरण !

सानो पार्टीको नेता भए पनि तपाईंको उचाई ठूलो छ किनभने तपाईं भूपू प्रधानमन्त्री हो । भलै अहिले जनताले तपाईंलाई मान्दैनन् होला तर तपाईं विगतमा ठूलो नेता हो नै । अहिले तपाईंको आचार विचार सबै कामकुरा देशमा अस्थिरता र अराजकता ल्याउनेमा लक्षित देखिन्छ । जातीय आगो लगाउने, संविधान असफल पार्ने, घृणा फैलाउने, हिंसा फैलाउने खालका क्रियाकलाप तपाईंबाट भइरहेको छ । उल्टै तपाईंले लेख्नुभयो– ‘आवेगले हैन विवेकले काम गरौं ’

आवेग होइन विवेक भन्ने शब्दावली हामीले धेरै अघिदेखि लेखिरहेका छौं र बारम्बार नाराको रुपमा लेखेका छौं । हामीले पवित्र मन र उद्देश्यले लेखेका थियौं । तर, तपाईंले अपवित्र उद्देश्यका लागि यो शब्दावली सापटी लिनुभएको देखियो । हामीलाई बहुत दुःख लाग्यो । हिँसावादी विरादरीको हौसलाका लागि तपाईंले हाम्रो प्रिय शब्दावली प्रयोग गर्नुभयो । यो शब्दावली हाम्रो निजी हो भन्ने अर्थ चाहिँ नलागोस् है ! यो देशको साझा शब्दावली बन्नुपर्छ ।

तपाईं हत्या हिँसाको राजनीति त्यागेर लोकतान्त्रिक बाटोमा आउँदा खुसी लागेको थियो । शान्तिका लागि तपाईंले गर्ने योगदानले मात्र तपाईंहरुले मारेका १७ हजार मानिसको आत्माले शान्ति पाउँछन् र तिनका परिवारले राहत पाउँछन् भन्ने लागेको थियो । तर, हिजो माओवादको नाममा रगत बगाएकोमा अहिलेसम्म पश्चाताप गर्नुभएन, क्षमा माग्नुभएन । बरु, आज जातीयता र क्षेत्रीयताको नाममा हिँसा भड्काउँन प्रयाश गर्दै हुनुहुन्छ । अरु कति नेपाली मारेर तपाईंको हिंसाको भोक शान्त हुन्छ भनेर प्रश्न गर्नुपर्दा बहुत दुखी छौं ।

यो देशको प्रधानमन्त्री भइसकेको तपाईंजस्तो व्यक्तित्वले लोकतान्त्रिक अधिकारको वकालत गर्नुपर्ने हो । सभाजुलुस गर्नु सबैको अधिकार हो र यो अधिकार कसैले पनि रोक्न पाउँदैन भनेर वकालत गर्ने र त्यस्तो वकालतमा अगुवाई गर्नुपर्नेमा उल्टै हिँसावादीहरुको पक्षमा उभिएर यो अधिकार कुण्ठित गर्नुपर्छ भन्दै हुनुहुन्छ । तपाईंलाई पार्टी्भित्र हिटलरको आरोप लाग्नु अनि बाहिर तपाईंले सभाजुलुस गर्न दिन हुन्न भनेर वकालत गर्नु संयोग मात्र हो त ? हिटलरले अरुलाई सभाजुलुस गर्न दिँदैनथे, त्यस्तै शैली तपाईंले देखाउनुहुँदा हरेक लोकतन्त्रवादी नेपालीको मन धरधरी रोएको हुनुपर्छ ।

हामीले जाति र पार्टीभन्दा माथि उठेर देश भनौं भन्ने अभियान चलाउँदै आएका छौं । हिजो अरुलाई सभाजुलस विथोल्न खोज्दा पनि त्यस्तो कुकर्मको हामीले विरोध गरेका थियौं, आज एमालेको सभा विथोल्ने खुलेआम आव्हानको पनि विरोध गर्छाैं । हामी चाहन्छौं, तपाईं एक आदर्शवादी देशभक्त नेता बन्नुहोस् र तपाईंको आदर्शको अनुशरण गर्न पाइयोस् । तर, तपाईं देशमा हिंसा भड्काउने, शान्ति विथोल्ने, विदेशी हस्तक्षेपको समर्थन गर्ने अभियन्ता बन्नुभएको छ ।

बाबुरामजी, तपाईंमा ज्ञान देखियो तर विवेक देखिएन । विवेकविहिन ज्ञान देशका लागि घातक हुन्छ । हामी तपाईंका शुभचिन्तक हौं, हिजोको तपाईंको लोकप्रियता लोभलाग्दो थियो, आजको अलोकप्रियता दुखलाग्दो छ । हामी पूरानै बाबुराम हेर्न चाहन्छौं, शान्ति र सदभावका लागि योगदान गर्ने बाबुराम हेर्न चाहन्छौं । राष्ट्रिय एकताको पक्षमा उभिँदै जातीय क्षेत्रीय सदभावको पक्षमा उभिएको हेर्न चाहन्छौं । तपाईं एक देशभक्त नेपाली भएको हेर्न चाहन्छौं । तपाईंले लोकतान्त्रिक चुनावमा सहभागिता जनाएको हेर्न चाहन्छौं ।

हाम्रा सुझाव तथा गुनासालाई अन्यथा लिनुहुन्न भन्ने अपेक्षासाथ

–शान्ता चौधरी र सरस्वती सुब्बा

विशेष