राजनीति मुख्य समाचार

२ नम्बर प्रदेशको चुनाव सार्न सरकारले मानेन, राजपा आन्दोलनमा जाने

२ नम्बर प्रदेशको चुनाव सार्न सरकारले मानेन, राजपा आन्दोलनमा जाने

जेठ २८ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी राजपा वीचको बैठक विना निश्कर्ष सकिएको छ ।

सुरुमा असार १४ को चुनाव सार्न माग गर्दै आएको राजपाले २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्न माग गरेकोमा सत्तारुढ दलहरुले सो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

राजपालाई सहमतिमा लिएर चुनावमा जाने प्रयासमा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा आइतबार राजपासँग सत्तारुढ दलका नेताले छलफल गरेका थिए ।

‘राजपाका नेताहरुले असार १४ को चुनाव सार्न प्रस्ताव गरे , हामीले नमानेपछि २ नम्बर प्रदेशको मात्रै भए पनि सारौं भने’ बैठकमा सहभागी सत्तापक्षका एक नेताले भने, ‘हामीले त्यो प्रस्ताव पनि अस्वीकार गर्‍यौं र बैठक विना निश्कर्ष टुंगिएको छ ।’

चुनाव सारेर समस्या समाधान नहुने

चुनाव जतिसुकै सारे पनि राजपाले चुनावमा भाग लिने विश्वास नभएकाले चुनाव सार्न नसकिने सत्तापक्षका नेताहरुले जवाफ दिएका थिए । राजपाले चुनावमा भाग लिनका लागि संविधान तत्काल संशोधन हुनुपर्ने र स्थानीय तहको संख्या थप गर्नुपर्ने शर्त राख्दै आएको छ ।

असार १४ को चुनाव पछि सारे पनि संविधान संशोधनमा एमाले सहमत नभएकाले संविधान संशोधन हुन्छ भनेर ग्यारेण्टी लिन नसकिने सत्तापक्षका नेताहरुले राजपालाई जवाफ दिएका छन् ।

त्यसैगरी स्थानीय तहको संख्या थप गर्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको हुनाले यसबारे पनि तत्काल केही गर्न नसकिने सत्तापक्षका नेताहरुले राजपा नेतालाई स्पष्ट पारेको बैठकमा सहभागी एक नेताले बताए ।

विशेष