जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगरबससम्म
दोलखाः दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताएका छन् । उनले जिरीलाई विश्व सामु चिनाउन बौद्ध धर्मावलम्बीको कुसुम निर्माण गर्ने र विश्वभरका बौद्ध धर्मावलम्बीलाई जिरी ल्याउने लक्ष्य आफूले लिएको पनि बताए ।
जिरीको पर्यटन विकासका लागि अव जिरी नगरपालिकाको विभिन्न तीन ठाउँमा बौद्ध धर्मावलम्बीको कुसुम अर्थात तीन वटा भगवानको मूर्ति निर्माण गरेपछि वडा नं– ३ पटासेमा १२० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गरिने र त्यहाँ पुग्नका लागि जिरी बजारबाट केबुलकार सञ्चालनमा ल्याउने योजना नगरपालिकाकाको रहेको प्रमुख जिरेलले बताए ।
पर्यटन विकासका लागि एक सय २० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गर्ने चर्चा चलेको वर्षौँ वितिसकेको छ तर अहिलेसम्म त्यहाँको माटो परीक्षणसमेत हुनसकेको छैन । मनसुनको अन्त्य भएसँगै विशेषज्ञ प्राविधिकबाट त्यहाँको माटो परीक्षण गराउने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
शाक्यमुनी बुद्धको मूर्ति जिरी नगरपालिका– ६ बुलडाँडामा निर्माण सम्पन्न भइसकेको छ भने कुसुममध्येको अर्को चेनरेजिक अर्थात लोकी शोरया भगवानको मूर्ति खावाडाँडामा निर्माण गर्ने लक्ष्य रहेको प्रमुख जिरेलले बताए ।
'यसरी तीन वटा अग्लो डाँडामा यी काम सम्पन्न गर्न सकिए साँच्चिकै पर्यटन विकासले ठूलो फड्को मार्न सकिन्छ,' उनले भने – 'यसपछि जिरीको ध्यान विश्व समुदायमा केन्द्रीत हुने र संसारभरका बुद्धमार्गी जिरी आउने विश्वास छ ।'
जिरीमा लामो समयदेखि नियमित यात्रुबाहक बस सञ्चालनमा छन् । तर जिरी बजारबाहेक गाउँ/गाउँमा भरपर्दो र पक्की सडक नहुँदा हिउँदमा धुलम्य र वर्षामा हिलम्य हुनेगरेको छ । जसका कारण सडक भएर पनि नगरवासी पैदाल हिँड्न बाध्य छन् ।
तर अव नगरपालिकाको विभिन्न ठाउँबाट नगर बस सञ्चालमा ल्याएर नगरवासीको दुःख र पीडालाई सम्बोधन गर्ने दावी प्रमुख जिरेलको छ । 'नगर बस सञ्चालनमा ल्याउन सकियो भने नगरवासीको लागि मात्रै नभई सिङ्गो नगरको पर्यटन विकासमा टेवा पुग्छ,' उनले भने ।