स्वास्थ्य देश मुख्य समाचार

औषधि किन्दा यस कारण ठगिन्छन ग्राहक, औषधि बजारको डरलाग्दो यथार्थ

सागर बुढाथोकी

औषधि किन्दा यस कारण ठगिन्छन ग्राहक, औषधि बजारको डरलाग्दो यथार्थ

 

तपाई हामी बिरामी हुँदा खाने औषधिमा डाक्टरको केही स्वार्थ होला ? सोझो मनले भन्ने हो भने हुँदैन । बिरामीलाई निको पार्नु असल डाक्टरको एकमात्र स्वार्थ हो । तर, यहाँ यो मात्रै भइरहेको छैन । डाक्टरले त्यस्तो औषधि लेख्ने गर्दछन् जुन औषधि बिक्री भएबापत उनीहरुलाई उपहार र बोनस आउँछ । सुन्दै आङ जिरिङ्ग हुने गतिविधि नेपालमा खुलेयाम भइरहेको छ ।

औषधि पसलले त्यस्तो औषधि सकेसम्म बिक्री गराउन प्रयत्न गर्दछ जुन औषधिमा बोनस र उपहार बढी आउँछ । अर्थात डाक्टरदेखि बिक्रेतासम्मलाई बोनस र उपहारको लोभमा पारेर औषधि कम्पनीहरुले औषधिको बिक्री गर्दै आएका छन् जसका कारण मर्कामा परेका छन् बिरामी । कतिसम्म भने औषधि बढी बिक्री गराउनका लागि बिरामीलाई आवस्यकताभन्दा बढी औषधि खान बाध्य बनाउने गरिएको छ ।

औषधिको बिक्री बढाउन कम्पनीले औषधी बिक्रेता, अस्पताल र डाक्टरसँग राम्रै सेटिङ गरिरहेका छन् । यो अंकमा हामी कुन औषधिमा औषधि पसललाई कति बोनस र नाफा दिइएको छ भन्नेमा केन्द्रीत छौँ ।


कुन औपधिमा कति बोनस दिन्छ औषधि कम्पनीले ?

ग्राहकले औषधि पसलमा गएर ग्याष्ट्रिकको औष्धि प्यान्टोप्राजोल जुनसुकै कम्पनीको किनेपनि त्यसमा लेखेको मुल्य नै तिर्नुपर्छ । धेरै औषधि किनेमा ग्राहकले माग्यो भने थोरै छुट पाउछ । औषधि पसलले भने औषधि बिक्री गर्दा पाउने नाफा त छँदै छ कम्पनीले पसललाई बोनसमा ५० प्रतिसत औषधि सित्तैमा दिइन्छ । १० स्ट्रिप प्यान्टोपप्राजोल किन्दा ५ स्ट्रिप सित्तैमा गरी १५ स्ट्रिप औषधि पाउँछ । कम्पनीले दिने बोनस कम्पनी अनुसार फरक फरक पनि हुन्छ ।


त्यस्तै ग्याष्ट्रिक कै औषधि

ओमेप्राजोललमा १०० वा २०० सय प्रतिसत बोनस दिन्छ । अर्थात १ बट्टा ओमेप्राजोल किन्दा एकदेखि २ बट्टासम्म सित्तैमा पाईन्छ । ग्याष्ट्रिक र अल्सर हुनेहरुलाई डाक्टरले राबेप्राजोल लेखिदिन्छन । यो औषधिमा १० देखि १५ प्रतिसतसम्म बोनस कम्पनीले दिएको हुन्छ ।

ग्याष्ट्रिक लगायत अन्य पेट सम्बन्धि गडबडी हुदाँ खाने झोल औषधिमा पनि बोनसमा एकरुपता छैन । ५० प्रतिसत सम्म अर्थात १० स्ट्रिप किन्दा ५ वटा सम्म बोनस आउँछ ।

त्यसैगरि शरीरको दुखाई कम गर्ने डाईक्लोफेनक कम्पोजिसन भएको औषधि बजारमा ट्याबलेट, मलम र झोलमा (सिरिन्जबाट दिने) आउछ । यो औषधिमा मलम र झोलमा २० देखि १०० प्रतिसत बोनस र ट्याबलेटमा २० देखि ५० प्रतिसतसम्म बोनस दिने गरेको पाईएको छ ।

घाटीको समस्यालाई हेरेर डक्टरले विभिन्न कम्पाजिसन भएको सिरप दिन्छन । कम्पनीले कप सिरपमा १० देखि २० प्रतिसतसम्म बोनस दिएको हुन्छ ।

घाटी तथा छातीको समस्या हुँदा डाक्टरले एमोक्सासाईलिन कम्पोजिसन भएको एन्टिबायोटिक औषधि लेखिदिन्छन । यो औषधिमा कम्पनीले १० देखि ६० प्रतिसतसम्म बोनस दिने गरेको छ । यो औषधि ट्याबलेट तथा झोलमा उपलब्ध छ ।

एन्टिबायोटिक औषधि सेफिक्जिममा पनि औषधि कम्पनीहरुले बोनस दिने गरेका छन् । एको छ । ट्याबलेट र सिरपमा उपलब्ध यो औषधिमा चालिस प्रतिसतसम्म बोनस दिइएको छ । अर्थात १० वटा किन्दा औषधि पसलले १४ वटा पाउछन् । एसेक्लोफेनक नामक औषधि पेनकिलर हो ।

बजारमा यो औषधि विभिन्न कम्पनीहरुको पाईन्छ । यो औषधिमा पनि कम्पनीले ४० प्रतिसतसम्म बोनस प्रदान गरेको छ ।

फेक्सोफेनाडिन औषधि एलर्जी र टन्सिल भएको बेलामा अन्य एन्टिबायोटिकमा संगै प्रयोग गरिन्छ । विभिन्न कम्पनीहरुले बजारमा यसको बोनस १० देखि ३० प्रतिसतसम्म दिने गरेका छन ।

ज्वरो आएको बेला, खाना नरुच्ने, नपच्ने र शरीर कमजोर हुदाँ डाक्टरले बिरामीलाई भिटामिन बी कम्प्लेक्स तथा विभिन्न मल्टिभिटामिनहरु सिफारिस गर्दछन् । यस्ता भिटामिन तथा मल्टिभिटामिनमा ५० प्रतिसतसम्म बोनस दिइएको छ ।

सिट्रजिन ट्याबलेट र सिरप एलर्जीको लागि प्रयोग गरिन्छ । औषधि कम्पनीहरुले यसमा १० देखि ३० प्रतिसत सम्म बोनस दिने गरेका छन् ।

पारासिटामोल सामान्य औषधि हो । यसमा औषधि कम्पनीले २० प्रतिसत बोनस दिएको हुन्छ । त्यस्तै पारासिटामोलमा अन्य कम्पोजिसन निम्सुलाईड, कोडिन क्लोरोजोक्साफेन लगायत कम्पोजिसन मिश्रित भएका सामान्य औषधिहरुमा १० देखि ५० प्रतिसत सम्म बोनस दिने गरिएको छ ।

माथी प्रस्तुत भएका नाम औषधिको नाम हैन, औषधि बनाउने मनिकुलको नाम हो । कम्पनी अनुसार औषधिको नाम भने फरक फरक राखिएको हुन्छ । उदाहरणका लागि बजारमा पाईने ग्याष्ट्रिकको औषधि प्यान्टोप र प्यान्जोल एउटै मनिकुलको भएपनि कम्पनीको कारण नाम फरक छ ।

माथि प्रस्तुत गरिएका औषधि सामान्य बिरामी हुदाँ खाने औषधि हुन । यी बजारमा सर्वाधिक बिक्रि हुने औषधिमा पर्दछन । यी लगायत मुटु, सुगर, प्रेसरको औषधिमा कम्पनीले बोनस नदिएपनि छुट भने दिएको हुन्छ । औषधि कम्पनीले बजारमा आफ्नो बर्चस्व कायम राख्न मुल्य बढाएर भएपनि औषधि पसललाई बोनस दिने गरेका हुन् ।

एउटै कम्पोजिसन र एउटै प्याकिङ भएको औषधिको मुल्य कम्पनी अनुसार फरक फरक निर्धारण गरिएको छ । नेपालमा औषधि बनाउने मनिकुल (कच्चा पदार्थ) सबै कम्पनीहरुले आयात गर्ने गर्दछन । त्यसैले मनिकुलको मुल्य कम्पनीअनुसार फरक पर्दैन ।

तर, औषधि बनेर आएपछि एउटै मनिकुलबाट बनेको औषधिको मुल्य फरक हुन्छ । एउटै देश,एउटै मिति र एउटै कम्पोजिसनमा बनेको औषधिको मुल्य फरक पर्नुको मुख्य कारण नै बोनसमा घटीबडी गर्नु हो । त्यसैले बोनस धेरै दिने कम्पनीको औषधिमा विश्वस्त हुन सकिदैन ।

 

औषधि कम्पनीको पसलदेखि डाक्टरसम्मलाई सेटिङ

औषधि कम्पनीले पसललाई बोनस मात्र होइन, विभिन्न किसिमका स्किम योजना पनि दिएको हुन्छ । जसमा विभिन्न गिफ्ट आईटम,ब्लांकेट, कुकर लगायत धेरैथरि गिफ्टहरु समावेश भएको हुन्छ । यो स्किम लिनको लागि औषधि पसलले औषधि ठुलो भोलुममा खरिद गर्नुपर्ने हुन्छ । जति धेरै ठुलो भोलुम त्यतिधेरै गिफ्ट उपलब्ध हुन्छ । भोलुममा सामान उठाउदा कम्पनीले तोकेको भन्दा धेरै बोनस समेत उपलब्ध गराएको हुन्छ ।

काठमाडौंको औषधि कम्पनीमा कार्यरत एकजना मेडिकल रिप्रेजेन्टिभ (नाम नबताउने शर्तमा) भन्छन् ‘कम्पनीले डाक्टरको लागि समय समयमा विभिन्न गिफ्टहरु दिने गर्दछ । आफ्नो कम्पनीको औषधि लेखाउनको लागि डाक्टरहरुको परिवारलाई टुर प्याकेज, सवारी साधन लगायत अन्य विभिन्न सेवा सुविधा प्रदान गर्छ ।’

डक्टरहरुसंग आफ्नो कम्पनीको औषधि लेखाउन सेटिङ गर्नको लागि कम्पनीका म्यानेजर तथा हाकिम पुग्छन् । त्यसको फलो अप गर्न र औषधि पसलको लागि मेडिकल रिप्रेजेन्टिभ पुग्छन ।

औषधि कम्पनीहरुले औषधि होलसेललाई औषधि पठाउछ । होलसेलले कम्पनीहरुले निर्धारण गरेको मुल्य र बोनससंगै औषधि पसलमा बेच्छ । औपधि होलसेलले पसललाई बिक्रि गर्दा कम्पनीले निर्धारण गरेको फाईदाको साथसाथै औषधि कम्पनीबाट बोनस, ईन्सेन्टिभ र गिफ्टहरु पाउछ ।

कम्पनिबाट यस्तो गिफ्ट र अतिरिक्त बोनसहरु पाउने ठुला औषधि पसल, पोलिक्लिनिक र अस्पतालहरु हुन्छन । सानो औषधि पसल भने कम्पनिले तोकेको बोनस मात्र पाउछन, किनकि उनीहरुले धेरै भोलुममा ओषधि उठाउदैनन् । डाक्टरको हकमा पनि कम्पनिहरुले डाक्टरको लोकप्रियता हेरेर उपहारको व्यवस्था गरेको हुन्छ ।


जस्ले बोनस बढी दियो, त्यस्को बिक्रि

सामान्यतया बिरामी हुदाँ डाक्टरलाई चेकअप गराउने चलन अझैपनि नेपालीहरुको विकास भैसकेको छैन । औषधि पसलमा गएर ‘मलाइ यस्तो भएको छ, औषधि दिनुस् न ?’ भन्ने चलन छ । पसलमै रहेको फार्मेसिस्ट वा हेल्थ असिससेन्टले चेकअप गरेर औषधि दिन्छन । यस्तो गर्दा एकातिर सहि उपचार नपाउने जोखिम रहन्छ भने अर्कातिर औषधि पसलले आफुले धेरै बोनस पाउने र फाईदा हुने औषधि दिएर पठाउछ । किनकि, बोनस भनेको १०० प्रतिसत फाईदा हो । त्यसैले जसरी पनि बिरामी नै ठगीमा परेको हुन्छ ।

त्यसैगरि डाक्टरको पुर्जा लिएर औषधि लिन जाने ग्राहकहरु समेत ठगीमा पर्छन । पुर्जा हेर्दै औषधि पसलेहरुले भन्छन ‘ठ्याक्कै औषधि एउटै हो, कम्पनी मात्र फरक छ । यो लैजानुस यो खादा नी ठिक हुन्छ ,फरक पर्दैन । ’ भनेको औषधि नपाए पछि मिलेको भनिएको औषधि लैजान बिरामी बाध्य हुन्छन् । एउटै कम्पोजिसनको औषधि भएपनि परिवर्तन गरिरहदाँ विरामीलाई असर पर्न सक्छ । त्यसैगरि डाक्टरले आफुले लेखेको कम्पनीको औषधि सेल्स भएन भने औषधि कम्पनीबाट पाइरहेको फाईदा कटौती हुन सक्छ ।


यस्तो प्रतिस्पर्धा किन हुन्छ ?

पछिल्लो समय नेपालमा औषधि कम्पनीहरुको तिब्र रुपमा वृद्धी भएको छ । भारतिय कम्पनीले उत्पादन गरेको औषधि नेपाली कम्पनीले उत्पादन नगरेका होइनन्, तर नेपाली बजारमा भारतिय कम्पनीको औषधिको दबदबा छ । किनकि धेरैजसो डाक्टरहरुले नेपाली कम्पनीको तुलनामा भारतिय कम्पनीहरुको औषधी लेख्छन् । त्यसैले,नेपाल औषधिमा पनि भारतसँग चरम परनिर्भर छ । औषधी बिक्रेता बोनसको लोभमा फसेपछि नेपाली कम्पनीहरुले भारतिय कम्पनीसँग प्रतिष्प्रर्धा गर्न सकिरहेका छैनन् ।

बजारमा नेपाली कम्पनीहरु बिच आफ्नै प्रतिस्पर्धा छ । त्यसको साथसाथै भारतिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपरेकाले धेरै बोनस दिएर व्यापार बढाउने रणनीति लिएका छन । नेपालमा भारतिय कम्पनीको मात्र होइन युरोप र अष्ट्रेलियाबाट समेत औषधि आउने गर्दछ ।

काठमाडौंको औषधि कम्पनीमा कार्यरत मेडिकल रिप्रेजेन्टिभ (नाम नबताउने शर्तमा भन्छन्) ‘ नेपाली औषधिको बजार पूरै डमाडोल भैसकेको छ । हामीले बोनस र गिफ्ट नदिए अर्कोले दिन्छ । हामीले डाक्टरलाई सेटिङ नगरे अर्को कम्पनीले सेटिङ गर्छ । कम्पनी चलाउनकै लागि सबै कम्पनीले सकेजति सेटिङ मिलाएकै छन् ।’


आरोपमाथि प्रत्यारोप

औषधि कम्पनीमा कार्यरत मेडिकल रिप्रेजेन्टिभहरु भन्छन ‘बोनस नदिए पसलले बेच्दैनन् । डाक्टरलाई सेटिङ नगरे डाक्टरले लेख्दैनन् । त्यसैले आफ्नो सेल्स पुर्याउनको लागि कम्पनीले तोकेको भन्दा बढी बोनस दिन बाध्य छौँ ।’

औषधि पसललेहरुको तर्क बेग्लै छ । उनीहरु भन्छन् ‘सेल्स पुगेन सामान राखिदिनुप¥यो भन्दै कम्पनीहरु विभिन्न स्किमहरु लिएर आउछन् । त्यसेलै आवश्यक औषधि अर्डर गर्छौँ । स्किम लिएर आएका सबैलाई अर्डर दिन सम्भव नै हुँदैन । उनीहरुको फाइदाका लागि हामीहरु भोलुममा औषधि अर्डर गरेर अलिअलि फाइदा लिन्छौँ । ’

औषधि बजारको झण्डै ४० प्रतिशत हिस्सा आन्तरिक उत्पादनले ओगटेको छ । झण्डै ६० प्रतिशत औषधि आयात गर्नुपर्दछ । नेपालमा ५० कम्पनीले एलोप्याथिक औषधिको उत्पादन र १५ओटा आयुर्वेद्धिक कम्पनीले बिभिन्न ब्रान्डमा औषधि उत्पादन गरिरहेका छन् । बिभागको रेकर्डअनुसार मुलुकमा करिव २० हजार औषधि पसलहरु सञ्चालित छन् ।

medicine crime medicine marcket

विशेष