राजनीति

असार १४ गतेको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न सक्दैनः अध्यक्ष ओली

असार १४ गतेको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न सक्दैनः अध्यक्ष ओली

 

कोहलपुर: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन आगामी असार १४ गते नै हुने बताएका छन् ।

नेकपा (एमाले) कोहलपुर नगर कमिटीले आयोजना गरेको कोहलपुर नगरपालिकाका उम्मेदवारको नामावली घोषणासभालाई यहाँ आज सम्बोधन गर्दै उनले असार १४ मा नै स्थानीय तहको चुनाव हुने भएकाले पार्टीका नेता तथा कार्यकर्तालाई घरदैलो र प्रचारप्रसारमा लाग्न निर्देशन दिए ।

अध्यक्ष ओलीले भने, “दोस्रो चरणअन्तर्गत असार १४ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले अब रोक्न सक्दैन, त्यसैले ढुक्क भएर निर्वाचनको माहोल बनाउन आम मतदातालाई मेरो अपिल छ ।”

सरकारमा जानका लागि राष्ट्रिय हितमा असर पुग्ने कुनै पनि काम एमालेले नगर्ने स्पष्ट पार्दै उनले नेपालको स्वतन्त्रता, अखण्डता, सार्वभौमसत्ता, स्वाधिनता र राष्ट्रियताको विषयलाई सधै गौरबको एजेण्डा बनाउने बताए ।

अध्यक्ष ओलीले स्वतन्त्र र शान्तिपूर्ण निवार्चन गराउने पक्षमा भुमिका खेल्न प्रहरी प्रशासनलाई आग्रह गर्दै धाँधली गर्ने, मतपत्र च्यात्ने, जनमतलाई धुजाधुजा पार्ने कार्यको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा एमालेबाट कोहलपुर नगरपालिकाका प्रमुख पदमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णाकुमारी चौधरीसहित १५ वटै वडाका वडाध्यक्षका उम्मेदवारको नामावली घोषणा गरिएको थियो । 

विशेष