राजनीति

राजपा नआए पनि चुनाव हुन्छ

राजपा नआए पनि चुनाव हुन्छ

जेठ ३० । राज्य व्यवस्था सफल, सक्षम र सुदृढ भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले राष्ट्रिय जनता पार्टी नआए पनि असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन हुने दृढता व्यक्त गरेका छन् ।

सत्ता र प्रतिपक्षले एकमतसाथ राजपालाई चुनावमा ल्याउन राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनमा पहिलो संशोधनसमेत गरेको तर राजपा चुनावमा सहभागी नहुनु रहस्यमय बनेको दाबीसमेत नेताहरूले गरेका छन्। असार १४ गते नै १, २, ५ र ७ प्रदेशका सबै स्थानीय तहमा एकसाथ चुनाव गर्नुपर्नेसमेत उनीहरूले बताएका छन् ।

प्रदेश नं. २ र ५ का केही मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था गर्नुपर्ने उनीहरूको आंकलन छ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष भीमबहादुर रावलले राजपाकै मागका आधारमा संविधान जारी हुनासाथ पहिलो संशोधन गरिएको र अहिले फेरि सत्ता र प्रतिपक्षी दलले एकसाथ स्थानीय तह निर्वाचन पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी ऐनको संशोधन गरे पनि उनीहरू चुनाव छाड्दै आन्दोलनमा जानु राम्रो नभएको बताए ।

स्थानीय तह पुनस्संरचना आयोगले ७१९ स्थानीय तह निर्धारण गरे पनि मधेसी मोर्चाको मागअनुसार २ नं. प्रदेशमा संख्या थपेर ७ सय ४४ बनाइएको पनि उनले बताए । राजपाले समस्या समाधानमा लाग्नुभन्दा पनि बल्झाउने कार्यमा लाग्नु गलत भएकोसमेत रावलले दाबी गरे । उनले भने, केही दिनअघि कांग्रेस संसदीय दलमा भएको कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरूको बैठकबाटै सिधै राजपाका शीर्ष नेताहरू भारतीय दूतावासमा राजदूतसँग भेट गर्न गएपछि चुनाव बहिष्कारमा जोड दिन थालेका हुन्।

आफूले छापामा पढेअनुसार राजदूत पुरीले स्थानीय तहको दोस्रो निर्वाचनमा भाग नलिन राजपाका नेतालाई निर्देशन दिएकोसमेत उनले दाबी गरे । रावलले भने, संसद् बहिष्कार गर्ने तर सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवा प्रधानमन्त्रीका उम्मेदवार हुँंदा मतदान गर्न आउने राजपा अहिले आमजनताले आफ्नो स्थानीय नेतृत्व चयन गर्दा बहिष्कार भन्दै हिँड्नुको उद्देश्य चुनाव हुन नदिने र लोकतन्त्र नै खतरामा पार्ने दाउभन्दा अरू केही हुनै सक्दैन।

राज्य व्यवस्था र सुरक्षा निकाय सक्षम, सुदृढ र सफल भएकाले राजपाको बहिष्कारले चुनाव अवरुद्ध नहुने दाबी रावलले गरे। कांग्रेस नेता डा. शेखर कोइरालाले भने वैशाख ३१ वा जेठ ३१ वा कुनै उपयुक्त मितिमा एकै चरणमा चुनाव गराउन नसक्नु राज्यको गम्भीर त्रुटी भएको उल्लेख गरे।

राजपासँग समझदारी गरी एकै चरणमा चुनाव भएको भए तराईरमधेसका भूभागमा तेस्रो चरणको चुनाव हुनुपर्नेमाग कहीँ कोहीबाट हुँदैनथ्यो। स्थानीय निर्वाचनको मिति सार्न नहुने उल्लेख गर्दै उनले भने, राजपाले संविधान संशोधन र जनसंख्याको आधारमा क्षेत्र निर्धारण नभएसम्म चुनावमा भाग लिँदैन । उसले चुनावमा भाग नलिँदा जित्ने कांग्रेस, एमालेले नै हो तर पाँंच वर्षपछि मुलुक अप्ठ्यारो स्थितिमा जान सक्ने खतराबारे काठमाडौंले बुझ्न सकेन। स्थानीय तह थप सम्बन्धमा सरकारले भ्याकेट लगाएको र त्यो सर्वोच्च अदालतले स्विकार्छ वा स्विकार्दैन हेर्नुपर्ने उनले बताए। कोइरालाले भने, तराईरमधेसमा तेस्रो चरणमा जांँदा मधेस र पहाडबीच कालान्तरमा दूरी बढ्ने खतरा हुन्छ।

माओवादी केन्द्रका सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले सत्ता प्रतिपक्षी सबै मिलेर राजपालाई निकास दिन एकै दिनमा तीनवटा बैठक बस्दै संसद्को नियमावलीसमेत निलम्बन गरेर ऐन संशोधन गर्दा पनि चुनाव बहिष्कार गर्नु रहस्यमय भएको बताए। उनले भने, राजपाको यो रहस्यमय चुनाव बहिष्कारको यात्रा उनीहरूकै लागि आत्मघाती कदम हुनेछ। मधेसमा चुनावी वातावरण बनिसक्यो, चुनाव रोकिँदैन, रोक्न पनि हुँंदैन। आममधेसी जनता चुनावको पक्षमा छन् ।

अन्नपूर्ण

विशेष