राजनीति

ससुरा ज्वाई चुनावी मैदानमा

ससुरा ज्वाई चुनावी मैदानमा

जेठ ३१ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भीमदत्तनगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ ।

गत संविधानसभाको निर्वाचनमा कञ्चनपुरमा चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भए पनि स्थानीय तहको निर्वाचनमा भने सहजै जित हासिल गर्न काँग्रेसलाई सहज छैन । अग्रस्थानमा जिल्लाभरका उम्मेदवार टुङ्गो लगाएर घरदैलोमा जुटिरहेको नेकपा (एमाले) र सबैभन्दा ढिलो गरी उम्मेदवार टुङ्गो लगाएको काँग्रेसबीच यहाँका कतिपय नगरपालिकामा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका अन्य साना दलले चुनावी प्रतिस्पर्धामा भाग लिएपनि सङ्गठन कमजोर भएका कारण निर्वाचन आफ्नो पक्षमा पार्न निकै सकस छ ।

प्रमुख राजनीतिक दलले यहाँको जेठो भीमदत्त नगरपालिकाको प्रमुखको लडाइँलाई आफ्नो अस्तित्वको लडाँई सम्झिएका छन् । नेपाली काँग्रेसबाट भीमदत्तको प्रमुख पदमा नेपाली काँग्रेसबाट पदम बोगटीलाई उम्मेदवार बनाइएको छ । अघिल्लो वर्ष काँग्रेस कञ्चनपुरको पार्टी सभापतिमा पराजित बोगटी दशकौँदेखि सक्रिय राजनीतिको पर्दामा देखिँदै आएका उम्मेदवार हुन् ।

त्यसैगरी, नेकपा (एमाले)बाट उम्मेदवार बनेका सुरेन्द्र विष्ट एमाले कञ्चनपुरका सचिव हुन् । सङ्गठनभित्र राम्रो पकड भएका विष्ट भीमदत्तनगरवासीसामु कति लोकप्रिय बन्छन, त्यो निर्वाचनको परिणामले देखाउनेछ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीलाई भीमदत्तको प्रमुखमा उम्मेदवार बनाएको छ । माओवादी खुल्ला राजनीतिमा आएसँगै रसायली जिल्लामा पार्टीका सक्रिय नेताका रुपमा परिचित छन् । क्षेत्रीय राजनीतिको समेत प्रभाव रहने कञ्चनपुरमा रसायली पनि भेगीय मत पाउनेमा आशावादी छन् ।

ससुरा–ज्वाइँ चुनावी मैदानमा

कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच कडा प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनका लागि सो वडामा नेपाली काँग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । भारतीय सेनाबाट अवकाश पाएपछि सक्रिय राजनीतिमा लागेका चन्द हाल काँग्रेसका वडा सभापति पनि हुन् ।

फरक पार्टी भएकाले ससुरा–ज्वाइँ बीचको प्रतिस्पर्धालाई सामान्य रुपमा लिएको बताए । दुई हजार ९७२ जना मतदाता रहेको हल्दुखालमा नेकपा (एमाले)ले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द काँग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् । नेकपा (माओवादी केन्द्र)बाट शङ्कर कुँवर वडाध्यक्षका उम्मेदवार रहेका छन् ।

Local Election 2074

विशेष