राजनीति

राजपालाई मनाउने प्रयास जारी, आज पनि वार्ता

राजपालाई मनाउने प्रयास जारी, आज पनि वार्ता


असार १ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मनाउने प्रमुख तीन दलको प्रयास बुधबार पनि सफल भएन ।

संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि गर्ने सहमति नहुँदासम्म कुनै चुनावमा सहभागी नहुने अडान राजपा नेताहरुले नछोडेपछि बिहीबार पुनस् बैठक बस्ने सहमति भएको छ। राजपा नेता शरतसिंह भण्डारीले माग पूरा नभएको तर वातावरण बने चुनावमा जान सकिने धारणा राखेका छन् ।

बिहीबारको बैठकमा तीन दल कसरी प्रस्तुत हुन्छन् त्यसपछि चुनाव हुनेरहुने तय हुने उनले बताए। ‘राज्यले सबैलाई चुनावमा जाने वातावरण बनाउनुपर्छ, धेरै बिषयमा गम्भिरतापूर्वक भइरहेको छ तर हाम्रा माग पुरा हुने खालको कुरा आएको छैन,’ बैठकपछि उनले भने, ‘बिहीबारको बैठकले वातावरण बनाउन सक्छ कि सक्दैन हेर्नुपर्छ ।’ चुनावै विथोल्ने गरी राजपा आमहड्ताल लगायतका आन्दोलनमा उत्रिएपछि सत्तारुढ दलहरु अब के गर्ने भन्ने अन्यौलमा छन् ।

चुनावमा राजपालाई सहभागी गराउने अधिकतम प्रयास गर्न बुधबार बैठक बोलाइएपछि तराई जाने कार्यक्रम रोकेर राजपा नेताहरु बैठकमा सहभागी भएका थिए। सत्तारुढ दलहरुले राजपा चुनावमा आउने सम्भावना भए उम्मेदवारी मनोनयनको मिति केही दिन पर सार्न सकिने प्रस्ताव बुधबारको बैठकमा राखेका छन्। मनोनयनको मिति सार्ने लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दैछन् ।

आयोगको कार्यतालिका अनुसार २ गते मनोनयनको दिन हो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असार १४ को मिति सार्न नहुने सकेसम्म मिलेर जानुपर्ने बताए। एमालेले बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने कुरा तत्काल सम्भव नभएकाले अन्य प्राविधिक कुरा मिलाएर जान आग्रह गरेको थियो। तर दुवै माग पुरा हुनै पर्ने धारणा राजपाबाट आएपछि एमालेले सत्तारुढ दलहरुलाई चुनावको मिति चाँही सार्ने दिशामा नलाग्न सुझाव दिएको छ । 

 

विशेष