राजनीति

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुपर्छ: अध्यक्ष लोहनी

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुपर्छ: अध्यक्ष लोहनी

 

असार - २ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सडक विस्तारका क्रममा अव्यवस्थित भएका पूर्वाधारको चाँडो निर्माण गर्नुपर्ने बताएका छन् ।

कलङ्की नागढुङ्गा सडकखण्डको अवलोकनपछि पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिले कलङ्कीमा आयोजना गरेको कोण सभामा अध्यक्ष डा लोहनीले काठमाडौँ उपत्यकाभित्र विस्तार गर्न लागिएका सडकखण्ड तथा त्यस आसपास क्षेत्रमा अहिले बढेको धुवाँ, धुलोले त्यहाँका स्थानीय तथा यात्रुको जनस्वास्थ्यमा असर परेकामा चिन्ता व्यक्त गरे ।

उनले भूकम्पका कारण भत्किएका प्राचीन महत्वका सम्पदास्थलको पूर्वाधार पुनःनिर्माण तथा जीर्णोद्धार पनि छिटोछरितो गर्नुपर्नेमा जोड दिए । अध्यक्ष लोहनीले एनसेललगायत सेवा प्रदायक कम्पनीले सरकारलाई तिर्नुपर्ने राजस्व असुली गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

मुलुकमा दण्डहीनताको अवस्था कायम रहेकाले भ्रष्टाचार गर्ने व्यक्ति तथा संस्थाको मनोबल बढिरहेको बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता अपनाउनुपर्ने विचार व्यक्त गरे ।

यसअघि, सो पार्टीले कालीमाटी, रविभवन, लामपार्टी हुँदै कलङ्कीसम्म सडक विस्तार कार्य छिटो पूरा गर्नुपर्ने, भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेलगायत माग गरी पदयात्रा गरेको थियो ।

विशेष