राजनीति

दोस्रो चरणको मनोनयन २ दिन ढिला

दोस्रो चरणको मनोनयन २ दिन ढिला

असार २ । असार १४ मा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुने भएको छ।

प्रदेश नम्बर १ मा एक महानगर, दुई महानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन्। त्यहाँ २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन्। प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह छन्। त्यहाँ २४ लाख ५४ हजार ४ सय ८८ मतदाता छन्। प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन्। त्यहाँ १३ लाख ३ हजार ७ सय १४ मतदाता छन्। प्रदेश नम्बर १, ५ र ७ मा ८ हजार ३ सय ६४ मतदान केन्द्र छन्।

दोस्रो चरणको मनोनयन दुई दिन ढिला

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन असार ४ गतेलाई तोकेको छ। यसअघि २ गते शुक्रबारलाई तोकिएको थियो। सरकारले प्रदेश २ को चुनाव तेस्रो चरणमा गर्ने निर्णयसँगै प्रदेश नम्बर १, ५ र ७ को मनोनयनको मिति सार्न आग्रह गरेलगत्तै बिहीबार आयोगले निर्णय लिएको हो। आयोगले तयारी पूरा गरिसकेका बेला उम्मेदवारी मनोनयनको एक दिनअघि एउटा प्रदेशको चुनाव र बाँकी स्थानको मनोनयन सार्ने निर्णय गरिएको हो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आग्रहसहितको मन्त्रिपरिषदको निर्णय प्राप्त भएपछि आयोगले प्रदेश २ को हाल घोषित निर्वाचन कार्यक्रम स्थगित र बाँकी प्रदेशका लागि तोकिएको कार्यक्रममा संशोधन गरिएको बताए। संशोधित कार्यक्रमले उम्मेदवारले प्रचार गर्ने समयमा कटौती भएको छ। ‘प्रचार कार्यक्रमलाई धेरै असर नगरोस् भनेरै यसअघि तोकिएको ४ दिनको निर्वाचन कार्यक्रमलाई ३ दिनमा सीमित गरिएको छ,’ उनले भने, ‘६ गते उम्मेदवारले निर्वाचन चिह्न पाएपछि प्रचारमा जुट्नेछन्, पहिला चिह्न वितरण ५ गतेलाई तोकिएको थियो।’ सरकारले राजपासँग सहमति जुटाउने नाममा चौथोपटक स्थानीय तह निर्वाचन मिति हेरफेर गरेको हो।

देशैभर एकै चरणमा गराउने गरी वैशाख ३१ मा घोषित निर्वाचनलाई जेठ ३१ मा समेत गर्ने गरी दुई चरणमा गर्ने निर्णय गरिएको थियो। पछि दोस्रो चरणलाई असार ९ हुँदै असार १४ गते पुर्‍याइयो। अहिले फेरि एउटा प्रदेशको निर्वाचन ३ महिनापछि तेस्रो चरणमा सारिएको छ।

कान्तिपुर

विशेष