राजनीति

उम्मेदवारको ठूला आश्वासन पत्याएनन् नेपालजञ्जका मतदाताले

नीरज गौतम

उम्मेदवारको ठूला आश्वासन पत्याएनन् नेपालजञ्जका मतदाताले

असार - ३ । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका प्रायः सबै उम्मेदवारले पाँच वर्षभित्र नेपालगन्ज सहरको कायापलट गर्ने मतदातालाई आश्वासन दिने गरेका छन् । 

तर, यहाँका मतदाता भने उनीहरुको आश्वासन पत्याउन तयार छैनन् । ‘वर्षात्को समयमा हरेक वर्ष डुबानको नियति भोग्न बाध्य यो सहरको कायापलट पाँचभित्र गर्छु भन्नु मत लिने ठाडो भूmठ बाहेक अरु केही हैन’–नेपालगन्ज–१३ का मतदाता हरिनारायण पौडेलको टिप्पणी छ ।

यहाँका मतदाताहरु भन्छन् –‘उम्मेदवारले गर्न सक्ने, पत्याउन सक्ने कुरा पो गर्नु पर्छ । नेपालगन्जका नागरिकहरु स–साना समस्यावाट आक्रान्त छन् । त्यसको समाधानको कुरा नगरेर एकैपटक ठूला काम गर्छु भन्नु उम्मेदवारले मतदाताको चेतनास्तरलाई कम आकलन गर्नु बाहेक अरु केही हैन ।’

हुन पनि यहाँका मतदाताले भने जस्तै नेपालगन्ज उपमहानगरपालिकालाई नेपालकै फोहरी नगरपालिका भन्ने गरिएको वर्षौ भयो, त्यसको समाधान हुन सकेको छैन । यो सहरभित्र स्तरीय बाटोघाटो छैन, पानीको निकास छैन, ढल छैन, छाडा चौपाया नियन्त्रण हुन सकेको छैन, गाँउसँग नगरलाई सडक सञ्जालले जोड्न सकिएको छैन । यो समस्या समाधान गर्छु भनेर उम्मेदवारले मतदातालाई भन्न सके उनीहरुलाई पत्याउने आधार पनि हुने थियो ।

यो सहरका चिडिमार, घसियारा समुदायको दैनिक जीविकोपार्जनको समस्या, बालश्रम मुक्त जिल्ला घोषणा गरिए पनि करिब तीन हजारको हाराहारीमा बालश्रमिक हुनु, टोलटोलमा त टाढाको कुरा सहरभरिमा पाँच वटा मात्र सार्वजनिक शौचालय हुनु, सडक पेटी अतिक्रमण गरी व्यापार, व्यवसाय सञ्चालन गरिनु, ट्राफिक नियमको पालना गराउन नसक्नु यहाँको थप समस्याको हो ।

तर, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवारहरु भने ठूला कुरा गरेर मत पाउने मानसिकताबाट प्रभावित हुनुले आम मतदाताको मन जित्न नसक्ने निश्चित छ ।

राजनीतिक विश्लेषक डा जनार्दन आचार्यको कथन छ – ‘स्थानीय निर्वाचन भएकाले टोलवासी, नगरवासीको दैनिक समस्या समाधान गर्ने कुरा उम्मेदवारले मतदातासँग गर्नुपर्छ । राष्ट्रिय योजनास्तरका विकास निर्माणका आश्वासनलाई उनीहरुले पत्याउने छैनन् ।’

अहिले आ–आप्mनो पार्टीको झण्डा, चुनाव चिन्ह अंकित पर्चा, पोष्टर बोकेर माइकिङ्ग गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारहरु घरदैलोमा पुगेर मतदातासँग साक्षात्कार गर्न व्यस्त देखिन्छन् । नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा भने मुख्यतया तीन ठूला दलबीच नै कडा प्रतिस्पर्धा हुने राजनीतिक वृत्तमा पूर्वानुमान गरिएको छ ।

सो उपमहानगरपालिकाका लागि नेपाली काँग्रेसले डा सुरेशकुमार कनौडिया, नेकपा (एमाले) ले समसुद्धिन सिद्धिकी, नेकपा माओवादी केन्द्रले दामोदर आचार्य र राप्रपाले डा धवल शम्शेर राणालाई प्रमुख पदको उम्मेदवार बनाएका छन् ।

यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख बसन्तराज अधिकारीका अनुसार, बाँके जिल्लाका कुल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आप्mनो मताधिकार प्रयोग गर्न पाउने छन् । कुल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रो लिङ्गी एक जना रहेको जनाइएको छ ।

निर्वाचनमा मतदाताले सहज रुपमा मतदानमा भाग लिन सकुन् भन्ने उद्देश्यले जिल्लाका १३६ मतदान स्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

त्यसैगरी, निर्वाचन अघि र पछिको समयमा जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले रणनीतिक योजना समेत निर्माण गर्ने प्रक्रियालाई अघि बढाएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राससलाई बताए।

‘सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि तयार गरेको सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजना अन्तर्गत जिल्लाको ४० स्थानमा सशस्त्र प्रहरी पोष्ट र १५ स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा राखिसकेका छौं’–प्रजिअ पन्थको भनाइ छ ।

सुरक्षा व्यवस्थापनअन्तर्गत भारतसँग सीमा जोडिएको जिल्ला भएकाले भारत र नेपालको संयुक्त सुरक्षा फौजले सीमा क्षेत्रमा संयुक्त गस्ती गरिरहेको, गाँउवस्ती, सहरका टोलटोलमा सुरक्षालाई थप चुस्त बनाइएको पनि प्रजिअ पन्थले जानकारी दिए ।

विशेष