राजनीति

‘नेपालमा लोकतन्त्र सुदृढ हुँदै गएको छ’

‘नेपालमा लोकतन्त्र सुदृढ हुँदै गएको छ’

 

असार - ३ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालमा लोकतन्त्र परिपक्व र सुढृढ हुँदै गएको बताएका छन् ।

संवाद क्लबको १४औँ वार्षिकोत्सवको उपलक्षमा शनिबार आयोजित कार्यक्रममा नेता नेपालले देशमा सामाजिक सद्भावको खाँचो रहेकाले सिङ्गो मुलुकलाई एकताबद्ध बनाउन सञ्चार क्षेत्र जनताको आवाज भएर उभिनुपर्ने बताए ।

नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीले देशमा गलत प्रवृत्ति हाबी हुँदै गएको बताए । “संविधान संशोधन हुनुपर्छ तर गलत ढङ्गले संशोधन हुनुहुँदैन,” उनले भने ।

काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको पतनपछि विधिको युग सुरु भएको र अब कानुनी शासनको सुरुवात भएको बताए । उनले कानुनी शासनका लागि काँग्रेसले २००७ सालदेखि नै सङ्घर्ष गर्दै आएको बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले स्थानीय तहको निर्वाचन सम्पन्न गरी सङ्घ तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्सरेर जबराले चीन र भारतले आर्थिक विकासको फड्को मारिरहेको बेला नेपालको आर्थिक स्थिति दयनीय रहेको बताउनुभयो । आर्थिक वृद्धिदर ७ प्रतिशतलाई अर्को वर्ष निरन्तरता दिन सकिन्छ की सकिदैन चुनौतीको विषय भएको उनकाे भनाइ थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले नेपाली जनताले खोजेको संविधान अझै नआएको बताउनुभयो । मुलुकमा गणतन्त्र आएको दशक वितिसक्दा पनि जनताको जिवनस्तरमा परिवर्तन नआएको उनकाे भनाइ थियो । कार्यक्रममा समाजसेवा, सञ्चार, राजनीति, पर्यटन, तथा आर्थिक क्षेत्रमा उत्कृष्ट योगदान दिने २२ जनालाई सम्मान गरिएको थियो । 

विशेष