राजनीति

राजपाका नेता धमाधम पक्राउ, मनोनयन दर्ता जारी

राजपाका नेता धमाधम पक्राउ, मनोनयन दर्ता जारी

असार–४ । उम्मेदवारी मनोनयन दर्तामा अवरोध पुर्याउन खोज्ने राजपा नेपालका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । नवलपरासीमा शनिबार बेलुकादेखि आइतबारसम्ममा एकदर्जन भन्दा बढीलाई पक्राउ गरेको छ ।
जिल्ला सदरमुकाम परासीमा शनिबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चार जनालाई गोली लागेको थियो । एमालेको टिसर्ट जलाउन खोज्दा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा चार जना गोली लागेर गम्भीर घाइते भएका थिए ।
प्रहरीले राजपाका जिल्ला संयोजक पुरन चौधरीसहित १४ जनालाई प्रक्राउ गरेको थियो । शनिबार र आइतबार गरी प्रहरीले नवलपरासीबाट ३० जनालाई पक्राउ गरेको छ ।
त्यस्तै गरी धनुषामा चार जना अध्यक्षमण्डलीय नेतासहित ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचन विथोल्ने उद्देश्यले घोषणा गरेको मधेस बन्द क्रममा आइतबार जनकचौकमा प्रदर्शन गरिरहेका ३५ जनालाई पक्राउ गरिएको हो ।
यसबीच नवलपरासीमा मनोनयन दर्ता जारी छ । राजपाको अवरोधका कारण कतै पनि मनोनयन प्रभावित भएको खबर छैन ।

विशेष