राजनीति

स्थानीय निर्वाचन अन्तर्गत ३ सय ३४ तहको उम्मेदवारी दर्ता आज

स्थानीय निर्वाचन अन्तर्गत ३ सय ३४ तहको उम्मेदवारी दर्ता आज


असार ४ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा अाज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले सुरक्षाकर्मीले शान्ति सुरक्षा कायम गर्ने कुरामा आयोग विश्वस्त रहेको बताए ।

‘उम्मेदवारी दर्ता सहज, सरल एवं सुरक्षित ढंगले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन आवश्यक निर्देशन दिइसकिएको छ,’ पत्रकार सम्मेलनमा उनले भने ‘उम्मेदवारी मनोनयनमा अवरोध गर्ने, भडकाउनेजस्ता क्रियाकलापलाई सुरक्षाकर्मीले निरुत्साहित गर्नेछन् ।’ तराईका जिल्लामा राष्ट्रिय जनता पार्टीबाट र पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपा माओवादीलाई सुरक्षा निकायले सुरक्षा चुनौतिका रुपमा लिएका छन् ।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारेपछि तीनवटा प्रदेशमा असार १४ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि बिना चुनावमा भाग लिन नसक्ने भन्दै आमहडताललगायतका आन्दोलन थालेपछि सरकारले प्रदेश नम्बर २ का ८ जिल्लाका स्थानीय तहको निर्वाचन सारेको हो।

सरकारकै आग्रहमा आयोगले दोस्रो चरणका लागि असार २ गतेलाई तोकिएको उम्मेदवारी मनोनयनको कार्यक्रमलाई दुई दिन सारेको हो । आयोगका अनुसार दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् । ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् । कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् । र, सुरक्षाकर्मी बाहेक निर्वाचन सञ्चालनका लागि ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रदेश नम्बर १ मा एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका सहित १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन् । एउटै राजनीतिक दलले नगरपालिकाको प्रमुखरउपप्रमुख वा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिंदा दुईमध्ये एउटा पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधान छ । दलबाट उम्मेदवार हुनेले सम्बन्धित दलको आधिकारिकपत्र समेत मनोयनसँगै पेस गर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा बैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ गाउँपालिका र नगरपालिकामा निर्वाचन भएको थियो । भरतपुर महानगरपालिकाबाहेक सबैतिर जनप्रतिनिधी बहाल भइसकेका छन् । प्रमुख पदमा महिला उठाउनुपर्ने कानुनी प्रावधानले नगरपालिका प्रमुखमा ४, उपप्रमुखमा ८७, गाउँपालिकाको अध्यक्षमा ८ र उपाध्यक्षमा १ सय ६४ जना महिला निर्वाचित भइसकेका छन् ।

विशेष