राजनीति

पूर्वाञ्चलमा गजबको तालमेल

पूर्वाञ्चलमा गजबको तालमेल


असार ५ । स्थानीय तह दोस्रो चरणको चुनावका लागि दलहरूबीच तालमेल भएको छ ।

मुख्य पदहरूमा एकअर्कालाई सघाउने गरी उनीहरूले तालमेल गरेका हुन्। एक्लाएक्लै लड्दा परिणाम आफ्नो पक्षमा पर्ने सम्भावना कम भएपछि केही दलहरू चुनावी तालमेल गर्न अग्रसर भएका हुन् । मोरङमा आफ्नो जित सुनिश्चित गर्न संघीय समाजवादी फोरम र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको छ ।

संघीय समाजवादी फोरम र माओवादी केन्द्रले आइतबार पत्रकार सम्मेलन गरी जिल्लास्थित विराटनगर महानगर, रतुवामाई नगरपालिका, धनपालथान र कटहरी गाउँपालिकामा चुनावी गठबन्धन भएको र बाँकी ठाउँको गठबन्धनका लागि छलफल भइरहेको जानकारी दिए । फोरम केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जयराम यादवले चुनावी गठबन्धनअनुसार विराटनगर महानगरमा फोरमबाट मेयरमा पूर्वजिल्ला अध्यक्ष उमेश यादव र माओवादी केन्द्रबाट उपमेयरमा नमिता न्यौपाने पोख्रेलको टुंगो लागेको बताए ।

जिल्लामै सबभन्दा पहिले विराटनगर महनगरको मेयर पदमा उम्मेदवारी घोषणा गरेका माओवादी केन्द्रका भोगेन्द्र यादव तालमेलपछि उठेनन् । यस्तै, रतुमाई नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल र संघीय समाजवादीबाट उपमेयरमा नारायण ताजपुरिया, धनपालथान गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विक्रम पासमान र संघीय समाजवादीबाट उपाध्यक्षमा इन्दिरामणिदेवी मण्डल र कटहरी गाउँपालिकामा संघीय समाजवादीबाट अध्यक्षमा श्याम मण्डल र माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार दिने टुंगो लागेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोपी अछामीले बताए ।

माओवादीले यसअघि उम्मेदवार घोषणा गरेको कटहरी गाउँपालिकाका अध्यक्ष योगेन्द्र यादव, रतुवामाई नगरपालिकाको उपमेयर लीलामाया तामाङ, धनपालथानका उपाध्यक्षका उम्मेदवार चाँदनी कुमारी मण्डलले उम्मेदवारी दिएनन्। जिल्ला इञ्चार्ज अछामीले आफ्नो पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीचको सहमतिअनुसार आफूहरूले जिल्लामा चुनावी गठबन्धन गरेको बताए। यस्तै, नेपाल लोकतान्त्रिक फोरमले विराटनगर महानगरमा एमालेसँग चुनावी गठबन्धन गरेको छ।

विराटनगरको मेयरमा एमालेका जिल्ला अध्यक्ष विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीले उम्मेदवारी दिएका छन्। कांग्रेसको आधार क्षेत्र रहेको मोरङमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । विराटनगरमा कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उम्मेदवार बनाएको छ । मोरङमा कांग्रेस, संघीय समाजवादी र माओवादी केन्द्र गठबन्धन, एमाले र लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

माओवादी केन्द्रका इञ्चार्ज अछामीले थप ४ ठाउँमा संघीय फोरमसँग गठबन्धनका लागि छलफल भइरहेको बताए। अन्य ठाउँमा पनि जित सुनिश्चित गर्न अरू दलसँग छलफल भइरहेको उनले जनाए। मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा गरी मुलुककै सबभन्दा बढी ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन्। नाम नभेटिएपछि भएन उम्मेदवारी संघीय लोकतान्त्रिक लिम्बुवान मञ्चबाट इटहरी उपमहानगरपालिका २ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गर्न आएका हर्कजंग लिम्बूले उम्मेदवारी दर्ता गर्न पाएनन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेको पर्ची लिएर अबिर र मालासहित निर्वाचन कार्यालय आएका लिम्बु त्यत्तिकै फर्किए ।

धरान ११ को महिला सदस्यमा उम्मेदवारी दर्ता गर्न गएकी मञ्चकै उम्मेदवार कविता लिम्बुले पनि उम्मेदवारी दर्ता गर्न पाइनन्। उनको समस्या पनि लिम्बुको जस्तै थियो। दल बदलेर उम्मेदवारी दुहबी नगरपालिका मेयर पदका आकांक्षी कुमार थापाले लोकतान्त्रिक फोरम परित्याग गरी संघीय समाजवादीसँग मिलेर मेयर पदमै स्वतन्त्र उम्मेदवारी दिए ।

चुनाव चिह्न नभएकाले आफू संघीय समाजवादी प्रवेश गरेको उनले बताए। पार्टीले आफूलाई मेयरको उम्मेदवार बनाउने आश्वासन दिएर अन्तिम समयमा धोका दिएको उनको आरोप छ। लोकतान्त्रिक फोरमबाटै देवानगन्ज गाउँपालिकाको अध्यक्ष उम्मेदवारका रूपमा भोट मागेका सन्तोष भगत पार्टीले टिकट निश्चित नगरेपछि एमाले प्रवेश गरे । उनले एमालेबाटै अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। देवानगन्ज गाउँपालिकामा बलियो उम्मेदवारको खोजीमा रहेको एमालेले उनलाई सहजै अध्यक्षको टिकट दिएको हो। एमाले सचिव तथा १ नम्बर प्रदेश संयोजक भीम आचार्यले संगठन अलि कमजोर भएका स्थानमा तालमेल गरेर जाने नीतिअनुरूप उनलाई पार्टी प्रवेश गराएर टिकट दिइएको बताए । कोसी गाउँपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरी अध्यक्ष पदमा बाजुद्दिन अन्सारीले मनोनयन दर्ता गराएका छन् । कोसी बाढीपीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका उनले पार्टीले आफूलाई सही ढंगले मूल्यांकन नगरेकाले विद्रोह गरी प्यानल नै स्वतन्त्र उठाएको बताए। कांग्रेसबाटै विद्रोह गरी इनरुवा नगरपालिकाको मेयरमा महेश्वरी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले पनि प्यानल नै खडा गरी उम्मेदवारी दर्ता गराइन्।

 

विशेष