राजनीति

बागी उठेकासहित १४ जनाले उम्मेदवारी फिर्ता लिए

बागी उठेकासहित १४ जनाले उम्मेदवारी फिर्ता लिए

 

असार - ६ । तेह्रथुमका स्थानीय तहमा विभिन्न राजनीतिक दलबाट बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका प्रमुख पदका ६ सहित १४ जनाले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमध्ये एक मात्रै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हुन् । बाँकी सबै विभिन्न दलका बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिने रहेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि निर्धारण गरेको सीमाभित्र लालीगुराँस नगरपालिकाका दुई र छथर गाउँपालिकाका चारजना प्रमुख पदका उम्मेदवारले नाम फिर्ता लिएका छन् । लालीगुराँस नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका वीरबहादुर लिम्बू र ईश्वर श्रेष्ठ तथा छथर गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्णप्रसाद दाहाल, गोविन्दबहादुर सुनुवार, भीमकुमार लिम्बू र दिलप्रसाद लिम्बूले उम्मेदवारी फिर्ता लिए ।

यस्तै, आठराई गाउँपालिका–२ का वडाध्यक्ष उम्मेदवार बुद्धलाल लिम्बू, वडा नं २ का वडाध्यक्ष उम्मेदवार रत्नकुमार कन्दङवा र छथर गाउँपालिका–५ का वडाध्यक्ष उम्मेदवार युवराज कार्कीले उम्मेदवारी फिर्ता लिए ।

यस्तै, छथर गाउँपालिका–५ वडा सदस्य उम्मेदवार डालीश्वर लिम्बू, वडा नं ६ का सदस्य उम्मेदवार कमलबहादुर कटुवालले पनि नाम फिर्ता लिनुभएको छ । फेदाप गाउँपालिका–१ का नेकपा (माओवादी केन्द्र)का उम्मेदवार किरणप्रकाश लिम्बूले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत डेगेन्द्रप्रसाद पराजुलीले बताए ।

यस्तै, स्वतन्त्रतर्फकै म्याङलुङ नगरपालिका–८ का वडाध्यक्ष उम्मेदवार केशरजङ्ग लिम्बू, र लालीगुराँस नगरपालिका–३ का वडाध्यक्ष उम्मेदवार झमक पौडेलले पनि उम्मेदवारी फिर्ता लिएका निर्वाचन आयोगले जनाएको छ ।

दुई नगरपालिका र चार गाउँपालिकामध्ये चार प्रमुख, दुई अध्यक्ष, ६ वडाध्यक्ष र दुईजना खुला सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । नाम फिर्ता लिनेमध्ये १३ जना विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता गराउने रहेका छन् । विभिन्न दलका उम्मेदवारले उम्मेदवारी फिर्ता गर्न इच्छापत्र दिए पनि पार्टीको आधिकारिक चिट्ठी समयमा ल्याउन नसकेपछि उम्मेदवारी फिर्ता हुन नसकेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।

उम्मेदवारी फिर्ताका लागि राप्रपाका म्याङलुङ नगरपालिकाका उपप्रमुख उम्मेदवार पविमाया कार्की, वडा नं ४ का माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार दुर्गाप्रसाद कोइराला, नयाँ शक्ति नेपालका मेन्छ्यायेम गाउँपालिका–२ का वडाध्यक्ष उम्मेदवार वीरध्वज लिम्बू र नेकपा (एमाले)की मेन्छ्यायेम गाउँपालिका–२ की दलित सदस्य उम्मेदवार द्रौपदा नेपालीले पनि उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए । जिल्लामा २२७ पदका लागि ७८६ जनाले नाम दर्ता गराएका थिए ।

विशेष