एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री चयनका बारेमा ठोस निष्कर्ष दिएनन्
जेठ १९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेनन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज(शुक्रबार) बसेको बैठकमा सो दलले भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखेको छ । अन्य केही दलले भने ती दुई विषयलाई अलग अलग रुपमा हेर्नुपर्ने बताएका थिए ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन नसक्ने बताए ।
प्रधानमन्त्री चयनकै विषयमा छलफल गर्न आज(बिहीबार) सभामुख ओनसरी घर्तीले आह्वान गरेको कार्य व्यवस्था परामर्श समिति बैठकमा समेत सहमति नभएपछि दलहरु अलग अलग गृहकार्यमा जुटेका हुन् । अहिले केहीबेरमा सो समितिको बैठक पुनः बस्दैछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भरतपुरको मतगणना तत्काल सुरु हुनुपर्ने र एमालेले पनि संसद् अवरोध खुलाई प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्ने आफ्नो पार्टीको धारणा आठ दलीय बैठकमा राखेको जानकारी दिए ।
उनले एमाले र राप्रपाबीच पहिलो चरणको स्थानीय तह निर्वाचनका विषयमा समीक्षा पनि गरिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए ।
CPN UMLE