प्रदेश २ मा सबै मधेसी दललाई चुनाव बहिष्कार गराएर एक्लै भिड्ने कांग्रेसको योजना यसरी खायो फेल
असार–७ । ‘भारत–भारत’ भनेर जतिसुकै कराए पनि साँचो कुरा चाहिँ यतैको गडबडीका कारण मुलुक तेस्रो चरणको निर्वाचन व्यहोर्ने स्थितिमा पुगेको हो । गडबडी कस्तो भने, देखाउने एउटालाई गर्ने काम भने अर्कै । सत्तारुढ नेपाली कांग्रेसका लागि राजपा दोस्रो चरणको निर्वाचनमा आए पनि नआए पनि दुईमा एकथोक टुंगो लागिदिनु जरुरी थियो । तर राजपालाई चुनावसँग टाढा बनाउँदा आफू लाभान्वित हुने नाममा जे जति खेल भए, अन्ततः त्यही नै कांग्रेस सकिने मेलो बन्न थालेपछि हो, देशले तेस्रो चरण भोग्नु परेको ।
सुरुमा कांग्रेस चाहन्थ्यो, राजपासहित दोस्रो चरणको निर्वाचन । यसका लागि उसले भनेको जे जे पनि मान्छु भन्यो । कांग्रेसको बुझाइए थियो यात उ एक ढिक्कै चुनावमा आउँछ वा पुरै बहिष्कार गर्छ । तर त्यसो नभएर उपेन्द्र यादव, विजय गच्छदार चुनावमा जाने । महन्थ, महिन्द्र, राजेन्द्र, राजकिशोर, अनिल झा, शरतसिंहहरु नजाने । यसबाट कांग्रेसको अन्दाज फेल खायो । यदि उपेन्द्र, विजयहरुले पनि बहिष्कार गरेको भए प्रदेश नम्बर २ मा पनि असार १४ मै निर्वाचन हुने थियो । तर, महन्थहरु चुनावमा नजाले र उपेन्दैहरु मात्र जाने अवस्थामा त्यहाँको मधेसी मत सर्लक्कै फोरमतिर जाने खतरा देखियो । यदि सबैले सक्रिय बहिष्कार गरेको भए त्यो मत कांग्रेसतिर ओइरिने या सबैले भाग लिएको भए मत आफूसहित धेरैतिर छताछुल्ल हुने गरी बाँडिने उसको बुझाई थियो ।
–जनआस्था साप्ताहिकबाट