राजनीति मुख्य समाचार

प्रतिष्ठाको लडाइमा ओली र सिटौला

प्रतिष्ठाको लडाइमा ओली र सिटौला


असार ८ । असार १४ को चुनाव झापामा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका लागि प्रतिष्ठाको सवाल बनेको छ ।

केन्द्रीय राजनीतिका दुई हस्तीलाई आआफ्नो गृहनगरमा चुनाव जित्न चुनौतीका पहाडहरु पन्छ्याउनु परिरहेको छ । दमकमा एमाले र भद्रपुरमा कांग्रेसलाई जिताउन ओली र सिटौला गृह जिल्लामा खटिएका छन् ।

सिटौला पछिल्लो चार दिनदेखि निरन्तर भद्रपुरका मतदातामाझ पुगेर भोट मागिरहेका छन् । ओली पनि तीन दिनदेखि गृहजिल्लाका विभिन्न चुनावी सभामार्फत मतदाता रिझाइरहेका छन् ।

एमालेले दमकमा २० बर्ष अघिका मेयर रोमनाथ ओलीलाई उम्मेदवार बनाएको छ । उपमेयरमा प्राध्यापक गीता अधिकारीलाई टिकट दिएको छ ।

मेयर भइसकेकालाई फेरि टिकट दिएको भन्दै एमालेका युवा कार्यकर्ताहरु रुष्ट छन् । कार्यकर्ताले सिफारिसै नगरेको तथा जागिरे व्यक्तिलाई उपमेयरको उम्मेदवार बनाएको भन्दै नगरका महिला नेतृहरु पनि असन्तुष्ट छन् । यसैले यस पटक ओलीलाई गृहनगरका सबै कार्यकर्तालाई समेटेर लान चुनौती थपिएको छ । दमकमा इतिहास भने एमालेको पक्षमा छ । ०४८ पछि एमालेले दमकमा दुई वटा चुनाव मात्र गुमाएको छ ।

०४८, ०५१ र ०५६ को संसदीय चुनावमा केपी ओलीले लगातार जित हासिल गरेका थिए । ०४९ र ०५६ को स्थानीय निर्वाचन पनि एमालेले नै जितेको थियो । तर, ०५६ को उपनिर्वाचनमा एमालेका देवेन्द्र दाहाललाई पराजित गर्दै नेपाली कांग्रेसका डा।गोपाल कोइराला निर्वाचित भएका थिए ।

०६४ को संविधानसभा चुनावमा ओलीलाई हराउँदै माओवादीका विश्वदीप लिङदेन निर्वाचित भएका थिए । तर, ०७० को चुनावमा पुनस् ओली निर्वाचित भए । यस पटकको चुनावमा एमालेलाई पराजित गर्न कांग्रेस र माओवादी केन्द्रले युवालाई उम्मेदवार बनाएको छ ।

राप्रपाले केन्द्रीय सहमहामन्त्री राम थापालाई उम्मेदवार बनाएको छ । पार्टीभित्रको असन्तुष्टी र अन्य पार्टीहरुले दमक केन्द्रीत चुनावी गतिविधि बढाएपछि ओलीलाई आफ्नो साख जोगाउन चुनौतीपूर्ण बनेको छ  । 

विशेष