राजनीति मुख्य समाचार

सम्पर्कविहीन मतदान केन्द्र : के भयो थाहा पाउनै तीन दिन लाग्छ

सम्पर्कविहीन मतदान केन्द्र : के भयो थाहा पाउनै तीन दिन लाग्छ

असार ९ । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् ।

मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय बाजुराले हिमालभक्ति प्रावि, बिच्छँया मावि, ठूलाकोट निमावि र गंगा निमावि बौडीस्थित मतदान केन्द्र सञ्चारविहीन रहेको जनाएको छ । भौगोलिक रूपमा विकट भएकाले जिल्लाका चारवटा मतदान केन्द्र पूर्ण रूपमा सूचनाविमुख रहेका छन् ।

ती मतदान केन्द्र सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा छन् । बाजुराको निकै विकटमा रहेका बिच्छँया मतदान केन्द्रको सूचना आदानप्रदान गर्न दुई दिन लगाएर कवाडी प्रहरी चौकीमा पुग्नुपर्ने हुन्छ । प्रहरी सेटबाट पनि सम्पर्क हुँदैन बिच्छँयाका चार मतदान केन्द्रमा कर्मचारी काम सकेर फिर्ता भएपछि मात्रै जानकारी पाइने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । १४ असारका लागि हुने चुनावका लागि बिहीबारबाट सो क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् ।

‘मतदान केन्द्रमा बीचमा केही समस्या भएमा रुगिनको कवाडी प्रहरी चौकीमा आएमा मात्र खबर हुन्छ, नभए हुन्न,’ उनले भने । प्रहरीको सेटबाट समेत सम्पर्क नहुने प्रहरीले जनाएको छ । साबिकको बिच्छँया गाविसमा अहिलेसम्म टेलिफोन सेवा विस्तार नभएकाले यस्तो समस्या भएको हो ।

अन्य मतदान केन्द्रको हालत पनि उस्तै

जिल्लाका अन्य केही मतदान केन्द्रमा पनि सहज रूपमा टेलिफोन सम्पर्क हुन नसक्ने निर्वाचन कार्यालयले जनाएको छ । रुगिनको मंगलमय निमावि नदापाटा, दहकोटको अम्लिस मावि, देवलकोट मावि गोत्री, भगवती मावि रुढीमा समेत तत्काल सम्पर्क नहुने बताइएको छ । हिमाली, पाण्डवगुफा र गौमुल गाउँपालिकामा स्थापना भएका निर्वाचन कार्यालयमा टेलिफोन सम्पर्क हुँदैन ।

जिल्लामा ९२ वटा मतदान केन्द्र रहेका छन्, तीमध्ये ४२ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । ४० वटा संवेदनशील र १० वटा सामान्य छन् । भौगोलिक विकटता, सञ्चारको पहुँच र अन्य सुरक्षाको हिसाबले ४२ वटा मतदान केन्द्र अति जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।
नयाँ पत्रिका

विशेष