राजनीति

निर्वाचन हुन चार दिन बाँकीः शीर्ष नेता चुनावी दौडधुपमा ब्यस्त

निर्वाचन हुन चार दिन बाँकीः शीर्ष नेता चुनावी दौडधुपमा ब्यस्त

असार - १० । स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन चार दिन बाँकी रहँदा प्रमुख पार्टीका शीर्ष नेताको दौडधुप प्रदेश नं ७ को चुनावीसभामा केन्द्रित भएको छ ।

विभिन्न दलका प्रमुख नेताको आगमनले चुनावी माहोल ह्वात्तै बढेको छ । उम्मेदवार मतदाताकोे घरदैलोमा पुग्ने होडबाजी नै चलेको छ । उम्मेदवारको पक्षमा मत माग्न चुनावीसभा र भेला गर्ने क्रम बढेको छ ।

आ–आफ्नो पार्टीका उम्मेदवार जिताउन दलका प्रमुख नेताहरु लागिपरेका छन् । दलका नेताको चुनावीसभा गाउँपालिकाभन्दा नगरपालिकामा केन्द्रित भएको छ । प्रदेश नं ७ को एक मात्र उपमहानगरपालिका धनगढीको निर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् ।

शुक्रबार नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीका तीन ठाउँमा भएका चुनावीसभालाई सम्बोधन गरे। देउवा आज कञ्चनपुरको चुनावीसभा सकेर डोटी पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुक्रबार धनगढी उपमहानगरपालिकाको फूलबारीमा भएको चुनावीसभालाई सम्बोधन गरे । उनले शुक्रबार नै कञ्चनपुरको विभिन्न चुनावीसभालाई सम्बोधन गरे ।

यस्तै नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल कैलालीको चुनावीसभामा सहभागी भएर गृह जिल्ला अछाम पुगेका छन् । एमालेकै शीर्ष नेता माधवकुमार नेपाल शनिबार धनगढी आउने बताइन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा शनिबार चुनावी सभालाई सम्बोधन गरे ।

निर्वाचन प्रचारको शैली सङ्गीतमय बनाइँदा सहर र ग्रामीण क्षेत्रमा चुनावी उल्लास छाएको छ । चुनावी उल्लाससँगै मतदाता मतदान गर्न आतुर देखिएका छन् । चुनावमा कसले बाजी मार्न सक्छ भनेर चुनावी जोड घटाउ पनि नेता कार्यकर्तामाझ तीव्र भएको छ । कैलालीमा एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका रहेका छन् ।

मदिराको बिक्री वितरणमा रोक

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन यही असार ११ गतेदेखि २० गतेसम्म कैलालीमा मदिराको बिक्री वितरण निषेध गरिएको छ । जिल्ला सुरक्षा समितिको आजको बैठकले मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

विशेष