राजनीति

ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः गृहमन्त्री शर्मा

ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः गृहमन्त्री शर्मा

 

असार - १२ । गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेका हुन् ।

गृहमन्त्री शर्माले भने– 'पहिलो चरणको निर्वाचन सम्पन्न गर्दाका अनुभवका आधारमा समेत सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको छ, सुरक्षामा कुनै समस्या छैन, ढुक्क रुपमा सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको छ ।'

नेकपा (विप्लव समूह) र राष्ट्रिय जनता पार्टीसमेत निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको भन्दै उनले निर्वाचन सफल हुने विश्वास व्यक्त गरे।

गृहमन्त्री शर्माले भने – 'म निर्वाचन हुने सबै प्रदेशमा गएर सुरक्षा निकायहरुसंगको अन्तक्र्रिया र छलफल गरी हरेक जिल्ला र हरेक मतदान केन्द्रका सुरक्षा योजनालाई परिमार्जित गरिएको अवस्था छ, निर्वाचनमा भाग लिन कुनै डर छैन ।'

नेपालको राजनीतिमा सकारात्मक प्रतिस्पर्धा सुरु हुने भएकाले यो ऐतिहासिक परिघटनामा जनताको ठूलो उत्साह रहेकाले निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्दै उनले दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएकाले यसलाई पालना गर्न सबै राजनीतिक दललाई आग्रह गरे ।

दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतको प्रयोग गर्नेछन् । 

विशेष