वर्षा र बम आतंकका बीच सुनसरीमा मतदान उत्साहजनक
झापामा भोट हाल्न गएका एक वृद्धको ज्यान गयो
असार १४ । एकातिर बमको आतंक अर्कोतिर वर्षात । तर पनि सुनसरीमा भोट खसाल्न जानेहरुमा उत्साहको कुनै कमि छैन । सुनसरीका विभिन्न विभिन्न निर्वाचन केन्द्रमा बिहानैदेखि मतदाताको उत्साह उत्तिकै रहेको छ ।
निर्वाचन उत्साहजनक भइरहँदा ज्येष्ठ नागरिकले भने सास्ती खेपेका छन् । सवारी सञ्चालनलाई प्रशासनले रोक लगाएपछि जेष्ठ नागरिकलाई समस्या भएको हो । हिँडेरै मतदान केन्द्रसम्म पुग्नुपर्ने बाध्यताले वृद्धवृद्धामा समस्या परेको हो । इटहरीकी ७७ वर्षीया वृद्धा मायादेवी गौतमले हिँडेर मतदान केन्द्रमा पुग्न समस्या भएको जानकारी दिइन । ‘गाडी पनि छैन, बिस्तारै हिड्दै आएर भोट हालेँ,’ उनले भने ।
इटहरीस्थित मतदान केन्द्रका अधिकृत भरतमणि रिजालले पार्टीसँगको समन्वयमा केही ठाउँबाट ज्येष्ठ नागरिकलाई मतदान स्थलसम्म ल्याइएको जानकारी दिए । रिजालका अनुसार मतदान केन्द्रमा भने ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिइएको छ ।
झापामा एक जना ८२ वर्षीया वृद्धको चुनावमा लाइन लागेकै अवस्थामा मृत्यु भएको छ । सुनसरीमा १६६ वटा मतदान स्थलहरु र ४८५ वटा मतदान केन्द्रहरु छन् । चार लाख २१ हजार १५९ मतदाता रहेकोमा तीन हजार ५२४ जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्येबाट सुनसरीमा ६४४ जनाप्रतिनिधि चुनिने छन् ।