दोस्रो चरणको निर्वाचनको सबै हिसाबकिताब यस्ताे छ
असार १४ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकाको नेतृत्व चयनका लागि मतदान सुरु भएकोछ । सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ ।
दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।
नगरपालिकाका प्रमुखरउपप्रमुख, गाउँपालिकामा अध्यक्षरउपाध्यक्ष तथा वडामा एक वडाध्यक्ष र चार वडा सदस्यसहित प्रत्येक स्थानीय तहमा एक मतदाताले ७ पदमा मतदान गर्नेछन् । दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रत्येक वडामा ४ सदस्यमध्ये एकजना दलित महिलासहित २ सदस्य महिलाका लागि आरक्षित छ । प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने राजनीतिक दलले तीमध्ये एक पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधानले महिला प्रतिस्पर्धीको संख्या उल्लेख्य छ । पहिलो चरणमा निर्वाचित १३ हजार ४ सयमध्ये ४० प्रतिशत महिला छन् । नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष पदमा करिब ९० प्रतिशत महिला निर्वाचित भइसकेका छन् ।
पाँच वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय निर्वाचन वि.सं. २०५४ सालको जेठयता भएको थिएन । ०५९ असारमा निर्वा्चित जनप्रतिनिधिहरूको अवधि सकिएयता स्थानीय निकाय कर्मचारीको भरमा थियो । यतिबेला भौगोलिक पुनसंरचनापछिको अधिकारसम्पन्न स्थानीय तहको निर्वाचन भइरहेको हो । साविकका २ सय १७ नगरपालिका (महानगर र उपमहानगरसहित) र ३ हजार १ सय ५७ गाविसहरू संविधानअनुसार पुनस्संरचना गरिएपछि ७ सय ४४ स्थानीय तहमा परिणत भएका छन् ।
मतदाता परिचयपत्र नभए वैकल्पिक व्यवस्था
आयोगले मतदानका लागि बिहान ७ बजेदेखि अपराहन ५ बजेसम्मको समय तोकेको छ । उक्त अवधिमा मतदान केन्द्रमा प्रवेश गरेकाले मात्रै मतदान गर्न पाउने प्रमुख आयुक्त यादवले बताए । मत खसाल्न आयोगले मतदाता परिचयपत्र अनिवार्य गरेको छ । मतदान केन्द्रहरूबाट परिचयपत्र वितरण गरिएको छ । कारणवशस् कुनै मतदाताले परिचयपत्र प्राप्त गर्न नसकेमा निजको मताधिकार सुनिश्चित गरिएको उनले बताए । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयत्र नभएका व्यक्तिले पुरानो मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी पुर्जा वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा समेत मतदान गर्न पाउने आयोगले जनाएको छ । यस्तो सुविधा पहिलो चरणको निर्वाचनमा पनि दिइएको थियो ।
दोस्रो चरणको निर्वाचनमा ४८ संस्थाका ६ हजार ७ सय ३३ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले ३५ जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता परिचालन गरेको जनाएको छ । नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरूलाई धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेलधुरामा अवलोकन भ्रमणको अनुमति दिइएको छ ।
दुई चरणको निर्वाचनमा दुई प्रधानमन्त्री
स्थानीय तहको पहिलो चरणको निर्वाचन गराउने बेला माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । दोस्रो चरणको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । कांग्रेस–माओवादीको सत्तासाझेदारीको सहमतिअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न गराएर दाहालले करिब १० महिनापछि जेठ १० गते राजीनामा दिएका थिए । सोही गठबन्धनबाट देउवा जेठ २३ गते प्रधानमन्त्री भएका हुन् ।
–कान्तिपुर दैनिकबाट