राजनीति

मधेसी दलले मनोवैज्ञानिक आतंक मात्रै सिर्जना गरेका रहेछन्, बहिष्कारले केही फरक पारेन

मधेसी दलले मनोवैज्ञानिक आतंक मात्रै सिर्जना गरेका रहेछन्, बहिष्कारले केही फरक पारेन

असार १५ । बाँकेको डुडुवा गाउँपालिका पिप्रहवा मतदान केन्द्रमा बुधबार बिहान ७ नबज्दै मतदाताको लाम लागिसकेको थियो । साँझ ५ बज्दा सय जनाभन्दा बढी उभिइरहेकै थिए । ८० प्रतिशत मधेसी र मुस्लिम रहेको उक्त केन्द्रमा साढे ६ बजे बल्ल मतदान सकियो । दुई हजार १२ मतदाता रहेको पिप्रहवा केन्द्रमा ८० प्रतिशत मत खस्यो । सिंगो गाउँपालिकामा भने अझ बढी ८३ प्रतिशत मतदान भयो ।

साना र छिटफुटबाहेक यस प्रदेशमा निर्वाचनमा कुनै अप्रिय घटना भएनन् । राजपाले बहिष्कार घोषणा गरे पनि मतदातालाई रोक्ने वा मतदानमा अवरोध गर्ने प्रयास गरेको देखिएन । सम्बद्ध जिल्लाका उक्त दलका केन्द्रीय नेताहरू आ–आफ्ना घरमा बसेका थिए । राजपा र विप्लव माओवादीको बहिष्कारका कारण सुरक्षा चुनौतीपूर्ण मानिएको प्रदेश ५ का जिल्लाहरूमा उल्लापूर्ण रूपमा मतदान भएको छ । यस प्रदेशमा पहाडतर्फ ६ र मधेसतर्फ ६ जिल्ला पर्छन् । राजपा प्रभावित ठानिएका रूपन्देहीमा ७०, कपिलवस्तुमा ७० र नवलपरासीमा ६५ प्रतिशत मत खसेको छ । रोजगारी र अन्य कारणले विदेश वा अन्यत्र ठूलो संख्याका मतदाता रहेका कारण यसलाई अत्यधिक मतदान मान्न सकिन्छ ।

मधेसका अन्य तीन जिल्ला दाङमा ७७, बाँकेमा ७२ र बर्दियामा ७३ प्रतिशत मतदान भएको छ । विप्लव समूहको विरोधको केही प्रभाव पर्ने ठानिएका रोल्पामा ६९ र रुकुममा ७५ प्रतिशत मत खसेको छ । बाँकी पहाडी जिल्ला पाल्पामा ७२, अर्घाखाँचीमा ७०, गुल्मीमा ७३ र प्यूठानमा ७२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश ५ मा १ सय ९ स्थानीय तह छन्, जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका पर्छन् । २०६८ को जनगणना अनुसार, यहाँ ४९ लाख १६ हजार ९ सय ७२ अर्थात देभरिको १७ प्रतिशत जनसंख्या छ ।

टुक्य्राइएका रुकुम र नवलपरासी जिल्लालाई छाड्ने हो भने सबैभन्दा धेरै १५.३५ प्रतिशत मगर, १५.१५ थारू, १४.५० क्षत्री र १२.६८ प्रतिशत बाहुनको बसोबास छ । बर्दिया, बाँके र दाङमा थारू तथा पाल्पा, रोल्पा, रूपन्देही, दाङ र प्यूठानमा मगरको बाहुल्य छ । बर्दियामा आधा थारू र पाल्पामा आधा जनसंख्या मगरको छ । बाँके र कपिलवस्तुमा अवधिभाषी र मुस्लिम समुदायको उल्लेख्य बसोबास छ ।

यस प्रदेशमा पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसले १७, एमालेले १५, एमाओवादीले ६ र मधेस केन्द्रितलगायत अन्यले ४ सिट जितेका थिए ।

प्रदेश ५ का नवलपरासी, रूपन्देही र कपिलवस्तु राजपाको प्रभाव रहेका जिल्ला मानिन्छन् । नवलपरासी उपाध्यक्ष हृदयेश त्रिपाठी, रूपन्देही अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र कपिलवस्तु महासचिव बृजेशकुमार गुप्ताका गृहजिल्ला हुन् । तीनै नेता केहीअघिदेखि आ–आफ्ना जिल्ला आएका थिए ।

राजपाभित्र दुई धार रहेकामा त्रिपाठी बहिष्कारको कट्टर पक्षधर हुन, बाँकी दुई नेता निर्वाचनमा सामेल नभएर पार्टीले गल्ती गरेको भन्दै ‘पछुताउने’ गरेका छन् । त्रिपाठीका प्रभावका कारण नवलपरासीमा राजपा पक्षधरको स्वतन्त्र उम्मेदवारीसमेत परेको थिएन । रूपन्देहीमा ठूलै संख्यामा र कपिलवस्तुमा आधाको हाराहारी पदमा राजपा समर्थक स्वतन्त्र हैसियतमा प्रतिस्पर्धामा उत्रिएका छन् । तिनलाई शुक्ल र गुप्ताको साथ–समर्थन छ ।

पार्टीले निर्वाचन बहिष्कार गरेकाले कतिपय कार्यकर्ता अन्य दलतिर प्रवेश गरेका छन् भने कतिपयले अन्य दलका चिह्न लिएरसमेत चुनाव लडेका छन् । कपिलवस्तुमा राजपाको ठूलै संख्या बहुजन शक्ति पार्टीका नाममा उठेको छ । उक्त दलको चुनाव चिह्न जग हो । अधिकारसम्पन्न स्थानीय तह जित्ने ठाउँमा पनि पाँच वर्षका लागि गुमाउनुपरेको भन्दै कार्यकर्ता पार्टीसँग रुष्ट छन् । नेतृत्व पनि अन्योलग्रस्त देखिन्छ ।

प्रदेश ५ कै पश्चिमतिर पर्ने जिल्लाहरू दाङ, बाँके र बर्दियामा राजपाका कोही नेता स्वतन्त्रकै हैसियतमा पनि चुनावी मैदानमा उत्रिएनन् । केन्द्रीय उपाध्यक्ष विजय गुप्ता र पशुपतिदयाल मिश्रको जिल्ला भएर पनि बहिस्कार गरेको चुनावप्रति राजपाले कुनै प्रतिक्रियासम्म देखाउन सकेन । तीन जिल्लामध्ये राजपाको अधिक प्रभाव रहेको भनिएको बाँकेमा ७२ प्रतिशत मतदान भएको छ । मधेस केन्द्रित ६ दल मिलेर बनेको राजपाका केही नेताले चुनावी तयारी पनि गरेका थिए । तर, अन्तिम समयमा बहिस्कारको निर्णयले ती नेतालाई निराश पारेको थियो । चुनावमा आएको भए केही गाउँपालिका वा वडा जित्ने सभावना थियो । उत्तिकै कठिनाइ पनि थियो, चार वर्षअघि संविधानसभा निर्वाचनमा राजपाअन्तर्गतका कुनै पनि पार्टीले यी जिल्लामा जमानत जोगाउन सकेका थिएनन् ।

इदलगत्तै ‘इद’’
नेपालगन्ज–४ को सल्यानीबाग केन्द्रमा मतदान गरेर निस्किएका साहिद खान टेलिफोनमा कसैलाई भनिरहेका थिए, ‘हामी त अर्को इद मनाइरहेका छौं । अस्ति (१२ गते) एउटा इद मनाइयो, आज अर्को ।’ उनको भनाइको अर्थ थियो– निर्वाचन मुस्लिम समुदायका लागि महान् चाड इदजत्तिकै महत्त्वपूर्ण हो ।

मतदानमा धार्मिक अल्पसंख्यक मुस्लिम समुदायको सहभागिता हर्षोल्लासपूर्ण थियो । उनीहरू मतदानमा आतुर देखिन्थे । अधिकांश मतदान केन्द्रमा बिहान ७ बजे नै लाम लागिसक्ने धेरैजसो मुस्लिम थिए । तिनमा पनि महिलाको संख्या बढी देखिन्यो ।

सरकारले रमजान महिनाभित्रै असार ९ गते निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यसको विरोधमा मुस्लिम समुदायले आपत्ति जनाएपछि पुनस् सारेर इदको दुई दिनपछि गरिएको थियो । त्यसले उनीहरूलाई सम्मानित भएको महसुस हुनुका साथै चाडको उल्लासमै जोडिएकाले उमंगमय बनाएको हो ।

‘रमजानमा मुस्लिमहरू पानीसमेत नखाई व्रत बस्छन्,’ नेपालगन्ज–३ का ६५ वर्षीय रजर मोहम्मदले भने, ‘व्रतमा चुनाव राखेको भए कसैले भोट दिँदैनथ्यो । इद सकिनासाथ भएकाले हामी खुसी छौं, चुनावमा पनि इदकै माहोल कायम छ ।’

नेपालगन्ज उपमहानगरपालिकामा मेयर–उपमेयरसहित वडाध्यक्ष र सदस्यमा विभिन्न पार्टीका दर्जनौं मुस्लिम नेताहरू उम्मेदवार छन् । ‘धेरैपछि स्थानीय चुनाव भएको हो,’ नेपालगन्ज–१५ खानेपानी मतदान केन्द्रमा बिहानै मतदान गर्न पुगेकी रिना अन्सारीले भनिन, ‘चुनावमा जनताले आफ्नो नेता आफैं छान्न पाउ‘छन् । त्यसैले पनि धेरै खुसी छौं ।’

नेपालगन्ज नगरमा मुस्लिम मतदाता निर्णायक अर्थात् २८.६१ प्रतिशत छन् । बाँकेका अन्य केहीसहित प्रदेश ५ का कपिलवस्तु र रूपन्देहीका कतिपय स्थानीय तहमा मुस्लिम समुदायको बाहुल्य छ ।
–कान्तिपुर दैनिकबाट

विशेष