राजनीति

भोट हाल्न मधेसी नै सबैभन्दा अगाडि, राजपाका नेता कता लुके कसैले थाहा पाएनन्

भोट हाल्न मधेसी नै सबैभन्दा अगाडि, राजपाका नेता कता लुके कसैले थाहा पाएनन्

असार १५ । प्रदेश १ का १ सय ३७ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको छ । यस प्रदेशका एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका मा ७१.५८ प्रतिशत मत खसेको छ । निर्वाचनमा मधेसी मतदाताको सहभागिता अझ उत्साहजनक देखिएको छ । २६ लाख ८५ हजार १ सय ८७ मतदातामध्ये १९ लाख २२ हजार २ सय ४१ ले मताधिकार प्रयोग गरे ।

चुनावको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आहवान गरेको बन्द र विप्लव नेतृत्वको माओवादीले सुरक्षा बिथोल्ने प्रयास गरे पनि १४ वटै जिल्लामा शान्तिपूर्ण मतदान भयो । चर्को घाम र कतै भारी वर्षाको अवरोधबीच पनि मतदाताको सहभागिता उल्लेख्य रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयहरूले जनाए ।

प्रदेश १ को पहाडी समुदायमा भन्दा तराई–मधेसका सुनसरी र मोरङका मधेसी समुदाय बहुल क्षेत्रमा बढी मतदान भयो । ती क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी थिए । मधेसका अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएकाले महिलाको सहभागिता बढी देखिएको हो ।

पार्टीले बहिष्कार गरे पनि सुनसरी र मोरङमा राजपाका कार्यकर्ता र तिनका समर्थकसमेत मतदानमा सहभागी भए । राजपाका कार्यकर्ता र समर्थकसमेत कतै स्वतन्त्र उम्मेदवारी दिएर, कतै माओवादी केन्द्रका र कतै कांग्रेसका उम्मेदवारलाई मत दिएर चुनावमा सहभागी भए ।

अशक्त र वृद्धवृद्धाले हवीलचियर र गाडीमा आएर मतदान गरेका थिए । मोरङको धनपालथान गाउँपालिकास्थित मतदान केन्द्रमा मतदानका क्रममा एक वृद्धको मृत्यु भएको छ । झापा र ओखलढुंगामा पनि मतदान गर्न आएका एकरएक जना वृद्धको पनि बेहोस भएर ढलेपछि मृत्यु भयो ।
बच्चा जन्माएको दुई घण्टापछि नै एक सुत्केरीले विराटनगर महानगरको कञ्चनबारी मतदान केन्द्रमा मत दिएकी छन् ।

प्रदेश १ मा सबभन्दा बढी सखुवासभामा ७५ प्रतिशत र सबभन्दा कम खोटाङमा ६५ प्रतशत मतदान भएको छ । निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा ७१, पाँचथरमा ६७, इलाममा ७७, झापामा ७३, संखुवासभामा ७१, तेह्रथुममा ७१, भोजपुरमा ६६, धनकुटामा ७३, मोरङमा ७२, सुनसरीमा ७४, उदयपुरमा ६९, खोटाङमा ६३, ओखलढुंगामा ७० र सोलुखुम्बुमा ६७ प्रतिशत मतदान भएको छ ।
कान्तिपुर दैनिकबाट

विशेष