दुई मत मात्रै खसेको मतदान केन्द्रमा शिव सेना नेपालले चालेछ खतरनाक ‘स्टेप’
असार १६ । असार १४ मा भएको निर्वाचनमा नवलपरासीको एक मतादन केन्द्रमा एक अनौठो घटना भयो ।
जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ६ स्थित जनता मावि भुजहवा केन्द्रमा जम्मा दुई मत खस्यो । जबकी त्यो मतदान केन्द्रमा ५ सय १ जना मतदाता थिए ।
यस्तो हुनुमा धेरैले राजपा नेपालका कार्यकर्ताले मतदातालाई प्रभाव पारेको आँकलन गरे । त्यो क्षेत्रमा पनि राजपा नेपालको प्रभाव क्षेत्र थियो । तर राजपाका कुनै पनि नेताले भोट हाल्न नजानू भनेका थिएनन् ।
उसो भए जनता किन भोट हाल्न गएनन् भन्ने प्रश्न तेर्सियो । खासमा सो मतदान केन्द्र रहेको क्षेत्रमा एक हिन्दू संगठनको गढ नै हो । अनिल बस्नेत नेतृत्वको शिव सेना नेपालको तराई पहाडका केही सिमित स्थानमा पकड छ । सानो क्षेत्रमा नै किन नहोस् यो संगठनले आफ्नो पकड जबर्जस्त राखेको छ । यही क्षेत्रमा रहेर शिव सेना नेपालको राजनीति गर्ने मुरारी पहलवानको ‘चल्ने’ क्षेत्र पनि हो यो ।
शिव सेना नेपालका केन्द्रीय सदस्यसमेत रहेका पहलवानले भने, ‘अध्यक्षज्यूले पहिले नै निर्देशन दिनु भएको थियो । हिन्दूराष्ट्र नहुञ्जेल चुनावले केही हुँदैन भनेर रातरात भर पर्चा बाँड्यौं । घर घर पुग्यौं । अनि सफल पनि भइयो । दूई जनाले चाही झुक्किएर भोट हालेछन् ।’
यो केन्द्र रहेको साविकको भुजहवा गाविसबाट वडा नम्बर २ लाई मात्रै अलग्याएर सरावल गाउँपालिकामा राखिएको थियो । यो विषयमा पनि स्थानीयको गुनासो थियो । त्यो आक्रोशलाई पनि शिव सेना नेपालले प्रयोग गरेको हुन सक्ने आँकलन गरिएको छ ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले मतदान नगरेर चलिरहेको व्यवस्थाप्रति जनताले आक्रोश व्यक्त गरेको बताए । उनले भने, ‘जनतालाई धर्म मासेको मन परेको छैन । आफ्नो संस्कृति नाश भएको ठीक लागेको छैन । यो विषयमा भएको गुनासो असार १४ मा देखिएको हो ।’
शिव सेना नेपाल राजनीतिक शक्ति भए पनि निर्वाचनमा सहभागी भएको छैन ।