दोस्रो चरणमा पनि मतदाताले उम्मेदवार होइन पार्टी नै हेरेर भोट दिए
असार–१६ । स्थानीय तहको दोस्रो चरण निर्वाचनको प्रारम्भिक मतगणनामा पनि प्रमुख दुई दल एमाले र कांग्रेसबीच टक्कर देखिएको छ । माओवादी केन्द्र पहिलेझैं तेस्रो स्थानमा देखिएको छ । एमाले र कांग्रेसले बझाङको एकरएक गाउँपालिका अध्यक्षमा तथा माओवादी केन्द्रले सोलुखुम्बुको एक गाउँपालिका अध्यक्षमा जितेर विजयी खाता खोलेका छन् । बझाङको काँडा गाउँपालिकामा कांग्रेसका राजेन्द्र धामी र मस्टा गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर कठायत विजयी भएका हुन् । यस्तै सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा माओवादीका डम्बरबहादुर बस्नेत विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार बिहीबार रातिसम्म ३ सय ७ भन्दा बढी स्थानको मतगणना भइरहेको छ । गणनाको पछिल्लो परिणामअनुसार एमालेले अग्रता लिएको छ । कांग्रेसले पनि एमालेलाई टक्कर दिइरहेको छ । राति ११ बजेसम्मको मतगणना परिणामअनुसार एमालेले ९७ स्थानमा अग्रता हासिल गरिरहेको छ भने कांग्रेस ८८ स्थानमा अगाडि छ । माओवादी केन्द्र दुई दलको तुलनामा निकै पछाडि छ । ३२ स्थानमा मात्रै अगाडि देखिएको छ । राप्रपा २ र संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायतका अन्य दलहरूको ७ स्थानमा अग्रता छ । प्रदेश नं. १, ५ र ७ का ३ सय ३२ स्थानमा बुधबार दोस्रो चरणको निर्वाचन भएको हो । दुई स्थानमा भने मतदान स्थगित भएको छ ।
प्रादेशिक हिसाबले १ र ५ नम्बर प्रदेशमा एमाले अगाडि छ भने प्रदेश ७ मा कांग्रेस । दोस्रो चरणमा भएको निर्वाचनमा १ महानगर र ७ उपमहानगरपालिका छन् । ती सबैमा मतगणना भइरहेको छ । ढिलो गरी मतगणना सुरु भएको विराटनगर महानगरमा कांग्रेसले अग्रता लिएको छ । उपमहानगरहरूको पनि मतपरिणाम आउने क्रम जारी छ । घोराही, तुलसीपुर, नेपालगन्ज उपमहानगरमा एमालेको अग्रता छ भने बुटवल, धनगढी, इटहरी र धरान उपमहानगरमा कांग्रेसको अग्रता छ । झिनो मतको अन्तरमा अग्रता भएकाले कांग्रेस र एमालेका उम्मेदवारको मत छिनछिनमा तलमाथि भइरहेको छ ।
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् ।
७ नम्बर प्रदेशको कैलाली र १ नम्बर प्रदेशको सुनसरीमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका उम्मेदवारले ठूला दलका उम्मेदवारलाई उछिनिरहेका छन् । त्यहाँका केही गाउँपालिका र नगरपालिकामा लोकतान्त्रिकले अग्रता कायम गरेको छ भने केहीमा टक्कर दिइरहेको छ । ५ नम्बर प्रदेशका रोल्पा, रुकुम तथा १ नम्बरको ओखलढुंगा, भोजपुरलगायतमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता र टक्कर दिइरहेका छन् । मतगणनामा भएको सुस्तताका कारण अन्तिम मतपरिणाम आउन भने केही दिन लाग्नेछ । पहिलो चरणको चुनावमा मतगणना ढिलाइ भएका कारण आयोगले यसपटक सुधार्ने प्रतिबद्धता जनाए पनि मतगणनाले गति लिन सकेको छैन ।
–कान्तिपुर दैनिकबाट