गाईको नाममा मान्छे मार्ने कार्य स्वीकार गर्न सकिन्नः भारतीय प्रम मोदी
असार १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाई संरक्षणको नाममा जनता मार्ने कार्य कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् । गाई संरक्षणकर्मीद्वारा गाई भक्तिका नाममा भएका शृङ्खलाबद्ध आक्रमण र त्यसपछिको हिंसाप्रति लक्षित गरी मोदीले यो अभिव्यक्ति दिएका हुन् ।
सवरमती आश्रम स्थापनाको शतवार्षिकी समारोहमा उनले भने, ‘राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्कोमाथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले गान्धीको अपमान हुन्छ ।’ उनले राष्ट्रहित र कानुनविपरीत कार्य गर्ने अधिकार कसैलाई पनि नभएको बताए । गत साता मथुराका लागि हिंडेको रेलमा एक मुसलमान यात्रीलाई रेलभित्र हत्या गरिएको र उनका परिवारजनलाई ‘अराष्ट्रवादी’ भनी गरिएको उत्तेजक घटनाविरुद्ध भारतीयले विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।