मन्त्रिमण्डलको भागबण्डा सुरु, गगन थापा र जनार्दन शर्मा दोहोरिएलान् ?
जेठ– २१ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्त्रालय भागवण्डाको छलफलमा जुटेका छन् । मन्त्रालय भागवण्डा मिलाउन कांग्रेसका विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा प्रभाकर रहेको कार्यदल सक्रिय छ ।
शक्ति र प्रभावका हिसावले अब्बल मानिएका केही मन्त्रालयको भागवण्डा टुंगिएको छ भने अन्य मन्त्रालयबारे छलफल जारी छ ।
देउवा सरकारमा माओवादीका साथै फोरम लोकतान्त्रिकसहितका दलले पनि सहभागी हुन चाहेका छन् । संसदको चौथो ठूलो दल राप्रपा पनि सरकारमा जान सकारात्मक देखिएको छ ।
कांग्रेस नेता लेखकका अनुसार परराष्ट्र, भौतिक पूर्वाधार एवं यातायात र रक्षा मन्त्रालय कांग्रेसले नै लिने सहमति भएको छ ।
यस्तै उर्जा मन्त्रालय भने माओवादी केन्द्रले नै राख्ने सहमति कार्यालयमा जुटेको छ । प्रचण्ड नेतृत्वको सरकारमा पनि परराष्ट्र, भौतिक पूर्वाधार र रक्षा मन्त्रालय कांग्रेसले सम्हालेको थियो भने उर्जा माओवादीको भागमा परेको थियो ।
उर्जा मन्त्रालय माओबादीले नै राख्ने भएपनि त्यसमा को मन्त्री हुने खुलाएको छैन् । त्यसैगरि स्वास्थ्य मन्त्रलयको भाग बण्डा नभएको कारणले पनि गगन थापा दोहोरिने टुङगों भएको छैन् । मन्त्रालय भागबण्डा भएपनि मन्त्री को बन्ने पार्टीको आन्तरिक बैठकले निर्णय हुने भएकाले थापा र शर्माको बारेमा अहिले ब्यापक चासो रहेको छ ।
गृह मन्त्रालय माओवादी र अर्थ मन्त्रालय कांग्रेसले लिने समझदारी पनि यसअघि नै भइसकेको छ ।
अरु मन्त्रालयको भागवण्डा टुंग्याउन कार्यदलको बैठक शनिबार साँझ पनि बस्ने भनिएको थियो । तर, कार्यव्यस्तता कारण सम्भव नभएको नेताहरुले बताएका छन् ।
नेताहरुका अनुसार प्रचण्ड सरकारमा कांग्रेस र माओवादीले सम्हालेका धेरै मन्त्रालय भने साटफेर हुनेछ । वर्तमान मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री गगन थापा, ऊर्जामन्त्री जनार्दन शर्माबाहेकका केही विवादमा परे, धेरै चाहीँ केही काम नगरेर चर्चामा आएनन् । काम गरेर चर्चामा आएकाहरु नयाँ मन्त्रिमण्डलमा पर्ने सम्भावना कम छ । किनभने राम्रोलाई निरन्तरता दिउँ भन्ने संस्कार राजनीतिक पार्टीहरुमा छैन । ‘त्यसले ९ महिना मस्ती गरिहाल्यो, अब मेरो पालो’ यस्तो शैलीको सोचका कारण मन्त्रिमण्डलमा नयाँले अवसर पाउने सम्भावना देखिएको छ ।