राजनीति

ओली फकाउन बालकोट पुगे देउवा तर ओली मानेनन्

ओली फकाउन बालकोट पुगे देउवा तर ओली मानेनन्


जेठ २१ । कांग्रेस सभापति देउवाले संसद अवरोध खुलाउने र आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति जुटाउन शनिबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई निवासमै गएर भेटवार्ता गरेका थिए । 

उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई संगै लिएर गएका देउवाले आफू सहमतिका साथ अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री निर्वाचनका लागि संसद अवरोध नगर्न आग्रह गरेका थिए । भेटमा ओलीले संसदमा जानकारी नगराईकनै प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाईएको र भरतपुर महानगरपालिका–१९ को पुनःमतदान गराउने निर्णय भएकोप्रति आपत्ति जनाउदै देउवासँग आक्रोश पोखेका थिए ।

देउवा र ओली भेटले सकारात्मक परिणाम नदिएपछि प्रधानमन्त्री निर्वाचन केही दिन लम्बिन सक्ने देखिएको छ । तर कांग्रेस नेता रमेश लेखकले राजनीतिक तहमा संवाद जारी भएकाले एमालेले प्रधानमन्त्री निर्वाचन प्रकृया नरोक्ने दाबी गरे । ‘स्थानीय तहको दोस्रो चरणको संघारमा हामी छौ । यस्तो बेलामा मुलुकलाई राजनीतिक अनिश्चयको बाटोमा लैजाने र काम चलाउ सरकारलाई राख्ने काम राम्रो हुन्न’ उनले भने, ‘सरकार बनाउने संसदको आधारभूत कुरालाई अबरुद्ध गरेर संसद अवरोध गर्नु गैरजिम्मेबार हो ।

एमालेबाट यस्तो काम हुँदैन भन्नेमा विश्वास छ ।’ भरतपुर महानगरपालिकामा मतगणनामा भएको घटनालाई लिएर एमालेले संसद अवरोध गर्दै आएको छ । संसद अवरोधका बीच सभामुख ओनसरी घर्तीले शनिबार सूचनाबाट प्रधानमन्त्री चयनको प्रकृया अघि बढाएकी हुन । प्रधानमन्त्री चयनका लागि भने संसद अवरोध खुल्न पर्छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका९१९ मा पुनस् मतदान गर्ने निर्णय लिएपछि एमालेले संसद अवरोध जारी राख्ने निर्णय लिएको छ ।

संसद खुलाउन दलहरूबीच अनौपचारिक छलफल भईरहेको छ । सहमति जुटेमा देउवाले आइतबारै चौथोपटक प्रधानमन्त्री हुने इतिहास लेखाउने छन् । ७२ वर्षीय देउवा पहिलोपटक ०५२ सालमा ४९ बर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी ०५८ साउन ११ मा दोस्रो र ०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री भए ।

विशेष