राजनीति

‘५४ सालमा बागलुङमा एमालेले मतपत्र च्यात्यो, दोस्रो पटक चुनाव हुँदा उसैले जित्यो’ (अडियोसहित)

‘५४ सालमा बागलुङमा एमालेले मतपत्र च्यात्यो, दोस्रो पटक चुनाव हुँदा उसैले जित्यो’ (अडियोसहित)

जेठ–२१ । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि सो महानगरको १९ नम्बर वडामा पुन मतदान गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । निर्वाचन आयोगको यस्तो निर्णयपछि अहिले नेकपा एमालेले यहि विषयलाई लिएर संसद अवरुद्ध गर्ने धम्की दिएको छ । भरतपुरमा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७ सय मतले अगाडि हुँदा मत पत्र च्यातिएको थियो । अहिले आयोगको निर्णयलाई माओवादी केन्द्रले स्वागत गरेको छ । अबको निर्वाचनमा माओवादी केन्द्रले जित हासिल गर्ने अड्कलबाजी पनि गरिएको छ ।

मतपत्र च्यात्ने काम कानुनतः अपराध हो । तर यस्तो अपराधको श्रृंखला भने नेकपा एमाले आफैले २०५४ सालमा बागलुङबाट गरेको थियो । त्यो बेला अमलाचौर गाविसको मतगणनामा एमाले कार्यकर्ताले मत पत्र च्याते । त्यहाँ पुन मतदान भयो । अघिल्लो पटक कांग्रेसले जित्ने स्थितिथियो । मतपत्र च्यातेपछिको चुनाव एमालेले जित्यो । ५४ सालमा खासमा भएको के थियो ? बागलुङका कांग्रेस सांसद प्रकाश पौडेल ५४ सालको त्यो घटना यसरी सम्झन्छन्ः

‘५४ सालको स्थानीय निकायको निर्वाचनमा अमलाचौर गाविसको मतगणना भइरहेको थियो । त्यो गाविसको सबै वडाको मतगणना भइसकेको थियो । ६ नम्बर र ७ नम्बर बाँकी थियो । गृहमन्त्री त्यो बेला नेकपा एमालेकै बामदेव गौतम थिए ।

अमलाचौर गाविसको अध्यक्षमा कांगे्रसका कोप्रामणि शर्मा, एमालेका खिपप्रसाद पाठक र राष्ट्रिय जनमोर्चाका डिल्लीप्रसाद शर्मा उठेका थिए ।
सातवटा वडाको गणना गर्दा ३२ मतले कांग्रेसका कोप्रामणि शर्मा अगाडि थिए । वडा नम्बर ६ मा पनि उनैले लिड गर्न थाले । त्यसपछि एमालेलाई चुनाव हार्ने निश्चित भयो ।

अनि एमाले कार्यकर्ताले मतपत्र च्याते । त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गर्यो । दोस्रो पटकको निर्वाचनमा कांग्रेसका कोप्रामणिले भाग लिएनन् । त्यो गाविसमा एमालेले नै जित्यो ।

हार्न लागेको चुनाव जित्न मतपत्र च्यात्नु पर्छ भन्ने बुझाई विकास भयो भने सबैभन्दा खतरनाक हुने देख्छु ।

हिजो माधवकुमार नेपालको टिभीमा अन्तर्वार्ता हेरिरहेको थिएँ । उनले बागलुङमा कांग्रेसले पो मतपत्र च्यातेको भन्दै थिए । प्रधानमन्त्री भइसकेको मान्छेले के यस्तो झुठ बोलेको होला ? ’

विशेष